तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लाको गढीगाउँमा ४२ किलोवाट विद्युत् उत्पादन, ३५० घरधुरी लाभान्वित 

गढीगाउँको अदली खोला लघु जलविद्युत आयोजनाको विद्युत् गृह, तस्बिर: सागर परियार ।

जुम्ला । गुठिचौर गाउँपालिका–१ को दुर्गम गढिगाउँका ३ सय ५० घरधुरीमा बत्ती पुगेको छ । गाउँपालिकाको लगानीमा गाउँमै ४२ किलोवाटको लघु जलविद्युत आयोजना बनेपछि गढीगाउँका ३ सय ५० घरधुरीमा बत्ती पुगेको हो । 

गुठिचौर गाउँपालिकाको १ करोड १ लाख बजेट लगानीमा निर्माण भएको ४२ किलोवाट क्षमताको अदली खोला लघु जलविद्युत आयोजनाबाट गढिगाउँका ३ सय ५० घरधुरीका १ हजार ८ सय नागरिक बत्तीबाट लाभान्वित भएको गुठिचौर गाउँपालिका अध्यक्ष हरि बहादुर भण्डारीले बताउनुभयो ।

उहाँले भन्नुभयो,“दुर्गम बस्तीलाई विद्युतको पहुँचमा पुर्‍याउन,बालबालिकाको पठन पाठनमा सहज गर्न तथा गाउँमा साना लगानीका उद्योग खोल्न विद्युत् उत्पादन गरिएको हो । ४२ किलोवाटको बत्ती बलेको छ । अब दियालो बाल्ने बाध्यताको अन्त्य भएको छ ।” 

अध्यक्ष भण्डारीले गाउँपालिकाले विद्युतीकरणमा जोड दिएको भन्दै जुम्लाका ८ वटै स्थानीय तहमध्ये कार्यसम्पादनमा जिल्लाकै नमुना भएको पनि दाबी गर्नुभयो । दुर्गम र विकासका पूर्वाधारबाट पछाडि परेको बस्तीका नागरिकलाई विकासको मूलधारमा ल्याउने लक्ष्य विद्युत्, खानेपानी, सिचाई, भवन, सडकको विकासले पुरा भइरहेको उहाँको भनाई छ । 
निर्वाचनका बेला घोषणा पत्रमा समेटिएका र स्थानीय जनतालाई दिएका आश्वासन अनुसार गढीगाउँमा बिजुली पुर्‍याइएको हो । 

गाउँ वर्षौँपछि झिलिमिली भएपछि दियालो बाल्ने बाध्यताको अन्त्य भएकोमा ५५ वर्षीय खुलामु ऐडीले खुसी व्यक्त गरिन् । वर्षौँदेखिको बत्ती बाल्ने सपना पुरा भएको छ । उहाँले भन्नुभयो,“अब हाम्रा बालबालिकाले उज्यालोमा पढ्न पाउने छन् । घरभित्रको काम धुवा रहित उज्यालोमै गर्न पाइने छ । दियालोको धुवाँले आँखा खराब हुन्थ्यो । आगलागीको डर पनि उत्तिकै थियो ।”

४२ किलोवाट बिजुलीबाट गढीगाउँ, नापानी, मुनिगाउँ र डिल्लीकोटका उपभोक्ता लाभान्वित भएका छन् । बिहान ५ बजेदेखि ८ बजेसम्म र बेलुका ५ देखि ११ बजेसम्म बिजुली आपूर्ति भइरहेको छ । जिल्लाकै पहिलो डिजिट पालिका बनेको गुठिचौरले विद्युतिकरणलाई प्राथमिकताका साथ अघि बढाएको छ । 

लघु जलविद्युत,सौर्य ऊर्जाको विकासमा समेत पालिकाले जोड दिएको छ । सङ्घीयताको महसुस हुने गरी स्थानीयको माग र आवश्यकतालाई मध्यनजर गरी विकास र सेवा प्रवाहलाई सबैको पहुँचमुखी बनाउन प्रयास गरिरहेको अध्यक्ष भण्डारीको भनाई छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button