तपाईँ सुन्दै हुनुहुन्छः

विहादी गा.पा. अध्यक्ष भुसालको कार्यकाल हल्ला थोरै, काम धेरै, विकासमा छलाङ 

गण्डकी । बाच्छा, बर्राचौर, रानीपानी, वहाकीठाँटी, उरामपोखरा, शालिग्राम गरी ६ वटा साबिकका गाउँ विकास समितिहरूलाई समेटेर बनाइएको विहादी गाउँपालिका ४४.८ वर्ग कि. मी. मा फैलिएको छ । 

यहाँको जनसङ्ख्या १३,४०३ रहेको छ । ६ वटा वडाहरू रहेको विहादी गाउँपालिकाको केन्द्र वहाकीठाँटी हो ।  दुई दशक जनप्रतिनिधि विहीन हुँदा अस्तव्यस्त बनेको यहाँको विकास निर्माण तथा सामाजिक व्यवस्था सङ्घीय संरचना अनुसार निर्वाचन भई जनप्रतिनिधि चुनिएपछि पूर्ण रुपमा बदलिएको छ । जनप्रतिनिधि सधैँ जनता प्रति उत्तरदायी र इमान्दार हुनेको हो भने परिवर्तनको दुरी धेरै टढा छैन भन्ने कुराको पुष्टि निर्वाचन पहिले र अहिलेको अवस्थाले जनाउँछ ।

२०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट कमल प्रसाद भुसाल गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएर आउनुभयो । पाँच बर्षे कार्यकाल आफूले निर्वाचित गरेर पठाएका आफ्ना जनप्रतिनिधिले कस्ता विकासका काम गर्न सके त ? यो सबै जनचासोको विषय पनि हो । विहादी गाउँपालिकाका अध्यक्ष भुसाल जिल्लामा शालीन, भद्र र ईमान्दार नेताका रुपमा चिनिनुहुन्छ । उहाँ निर्वाचित भएर गाउँपालिकामा आएपछि  अन्य कुनै पनि नकारात्मक क्रियाकलापमा तथा उनको काम प्रति समग्रमा विहादी गाउँपालिकामा कसैले प्रश्न गर्न सक्दैन । 

प्रचारमा भन्दा पनि आफ्नो कर्ममा विश्वास गरेर समग्रमा विहादीको विकासमा निस्वार्थ भावनाका साथ अहोरात्र खटिने उहाँको पाँच बर्षे कार्यकालको समीक्षा गर्दा विहादीमा उहाँ प्रति गुनासो गर्ने खासै ठाउँ भने छैन । उहाँको कार्यकालमा एक दुई झमेला र विवाद भने नभएको होइन तर सबैलाई मिलाएर लैजान सक्नु नै असल नेतृत्वको गुण हो । 

उहाँको कार्यकालमा केही वडाको वृद्धभत्ता हराएको र गाउँपालिकाको केन्द्रको विषयले भने निकै उग्र रूप लियो । गाउँपालिकाको केन्द्रको विषयमा सर्वोच्च अदालत सम्म मुद्दा पर्‍यो जसले उहाँलाई निकै समस्यामा पार्‍यो । मुद्दा फैसला पछि उनलाई राहत मिल्यो । वृद्धभत्ताको केस भने लिन गएका सम्बन्धित व्यक्तिहरूले नै खातामा रकम जम्मा गरेपछि सबै विवाद मत्थर भयो । 

उहाँको पाँच बर्षे कार्यकालमा विहादी गाउँपालिकाले भौतिक विकासमा भने काँचुली नै फेर्‍यो । प्रदेश सरकार र नेपाल सरकार दुवै आफ्नै पार्टीको भएर पनि होला विहादीमा राष्ट्रिय गौरवको योजना देखि अन्य महत्त्वपूर्ण योजनाले सार्थकता पाउन सफल हुनुभयो । पर्वतकै राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना र सोही क्षेत्रबाट निर्वाचित सांसद विकास लम्साल प्रदेशको मन्त्री हुनुले पनि उहाँलाई ठुलो सौभाग्य मिल्यो । उहाँहरू सँगै सङ्घीय सांसद पदम गिरीको पनि उहाँलाई साथ मिल्यो । 

विहादीबाट उहाँले सिफारिस वा माग गरेका योजनाहरूमा बजेट यथेष्ट विनियोजन हुँदा विहादी पूर्वाधार विकासका हरेक योजनाले गति लिए । पछिल्लो पाँच वर्षमा विहादीको पर्यटन, शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ कुलो, खेलमैदान, विद्युत्, खानेपानी लगायतका सबै क्षेत्रमा बजेट यथेष्ट विनियोजन भयो । 

औसत आर्थिक अवस्था रहेको यो गाउँपालिकाको आर्थिक जगलाई बलियो बनाउन पर्यटन, उद्योग, वाणिज्य, कृषि तथा पशुपालन लाई लिँदै गाउँपालिकाले पनि कृषि, पशु, ऊर्जा, पर्यटन, शिक्षा स्वास्थ्य, समृद्ध विहादीको पहिचान भन्ने मूल नारालाई साकार पार्ने दिशा तर्फ उन्मुख भयो । 

सुशासन, समृद्धि र सेवा प्रवाह नै आफ्नो मूल उद्देश्य ठानी यहाँका नागरिकहरूलाई सेवा दिइरहेको गाउँपालिकाले दीर्घकालीन योजनालाई पनि उत्तिकै जोड दियो ।

सडकमा छलाङ
सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहको सरकारको सहकार्य तथा समन्वयमा यहाँ साना तथा ठुलो विकासका आयोजनहरूको काम धमाधम भइरहेको देख्न सकिन्छ । पक्की सडकको मात्रा शून्य अवस्थामा रहेको यस गाउँपालिकामा पछिल्लो समय १० कि.मि. सडक पक्की भइसकेको छ भने ३० कि.मि. सडकमा कालोपत्रेको काम भइरहेको छ । स्याङ्जाको वालिङ हुँदै पैयुँ हुवास बजार बाट १० किलोमिटरको दुरीमा रहेको विहादी गाउँपालिका पुग्ने सडक कालोपत्रे गरिएको छ । उक्त सडक खण्ड अन्तर्गत विहादीको वहाकीभञ्ज्याङ सम्म सडक पक्की भएको छ । 

जिल्लाको सदरमुकाम कुश्मा बजार बाट ३५ कि.मि.को दुरीमा पर्ने उक्त गाउँपालिका छिचोल्दै गएको राष्ट्रिय गौरवको आयोजना बहुचर्चित उत्तर(चिन) दक्षिण (भारत) जोड्ने कालिगण्डकी करिडोरमा समेत कालोपत्रेको काम भएको छ । उक्त खण्ड अन्तर्गत रानीपानी देखि फलेवास ढिक सम्मको सडक अहिले कालोपत्रे भइरहेको छ । सेतीवेणी देखि–रानीपानी सडक खण्ड पनि कालोपत्रे भइरहेको छ ।

भारतलाई चीन सँग जोड्ने यो लोकमार्ग विहादी विकासको मेरुदण्ड रुपमा लिइएको छ । यसका साथै राष्ट्रिय गौरवको आयोजना पर्यटन सडकको रुपमा पोखरा-भदौरे-लुंखु हुँदै सेतीवेणी सडकको कालोपत्रे गर्ने कामको समेत थालनी भइसकेको छ । सडक सहजता तथा यहाँ उत्पादित वस्तुको निकासीमा सहजता पुर्‍याउन गाउँपालिकाले प्रत्येक वडाका बस्ती बस्तीमा सडक विस्तार गरेको छ । 

यहाँका अन्य शाखा सडकहरूको डी.पी.आर. तयार गरिसकिएको छ । रानीपानी पोखरीचौर देखी ईमीचौर सडक, वहाकी लिङसिङ देखी आपालय हुँदै कालिगण्डकी लोकमार्ग पुग्ने सडक, सेतीवेणी–छचन्ने हुँदै चर्काक सडक, खोरपोखरा–उरामपोखरा–गेप्ताङ हुँदै महाशिला जोड्ने सडक, तल्लो बाच्छा देखि उपल्लो बाच्छा तथा देउराली जाने सडक, वहाकीभञ्ज्याङ–माझगाउँ हुँदै सेतीवेणी जाने सडक लगायत बस्ती बस्तीका सडक स्तरोन्नति गरिएको छ । अहिले यहाँका बस्ती तथा घर घरमा सडक पुगेको छ ।

यस गाउँपालिका सिमानामा पर्ने डुड खोलामा बर्षातको समयमा गाडीहरूलाई खोला तर्न कठिन थियो । कतिका त मोटरसाइकल खोलाले बगाउँथ्यो पनि । अहिले उक्त ठाउँमा मोटरेवल पुल निर्माण गरी सञ्चालनमा आइसकेको छ । यो बाहेक पनि सेतीवेणीमा मोटरेवल पुल निर्माण भइसकेको छ भने बाच्छा खोलामा निर्माणको प्रक्रियामा छ । यसका अलवा रानीपानी-गुल्मीको मुल्का जोड्ने झोलुङ्गे पुल-बराचौर-कोरेङ, घुमाउने घाट, बेलबगर, सेतीवेणी, बाच्छा लगायतका स्थानमा निर्मित झोलुंगे पुलहरूले सडक तथा यातायातको व्यवस्था सुदृढ पारेको छ । यसका साथै सेतीवेणीमा स्टिलको बेलीब्रिज निर्माण समेत भएको छ । जसले प्रसिद्ध धार्मिक स्थल शिला शालिग्राम दर्शन गर्न आउनेको लागी यात्रामा निकै सहज बनाएको छ ।

बस्ती बस्तीमा सामुदायिक भवन, बाटोघाटोमा प्रतीक्षालय निर्माणगाउँवस्तीमा सभा,बैठक तथा अन्य कुनै कार्यक्रम सञ्चालन गर्न गाउँपालिकाका सबै वडाका बस्ती बस्तीमा सामुदायिक भवन निर्माण गरिएको छ । आमा समूह, क्लब तथा अन्य सङ्घ संस्थाको कार्यक्रम गर्न ती सामुदायिक भवनले निकै सहज भएको छ । त्यस्तै विहादी गाउँपालिकाका मुख्य सडक तथा पदमार्गहरूमा यात्रुहरूलाई सहज बनाउन प्रतीक्षालय निर्माण गरिएको छ । यसले यात्रुलाई निकै सहजता प्रदान गरेको छ ।

कृषिमा यान्त्रिकीकरण,व्यवसायीकरण, सहकारी मार्फत रोजगारी
परम्परागत कृषि प्रणालीमा सुधार गर्दै कृषिमा यान्त्रिकीकरण, व्यवसायीकरण, आधुनिकीकरणलाई गाउँपालिकाले जोड दिन थालेपछि यहाँका मानिसहरू कृषि पेसा तर्फ आकर्षण हुन थालेका छन् । उत्पादन र उत्पादकत्व, वृद्धि गर्दै कृषकको दैनिक स्तर उकास्न तथा कृषि कर्मलाई सरल र सहज बनाउन गाउँपालिकाले टनेल, थ्रेसर, कुटानी पिसानी मिल, हाते ट्याक्टर, लगायतका यन्त्रहरू वितरण गर्नुका साथै कृषि अनुदान समेत उपलब्ध गराउँदै आएको छ । व्यवसायीक खेती तर्फ उत्प्रेरण जगाउन पालिकाले कृषि प्रविधि, कृषि बिमा तथा तालिम सञ्चालन गर्नुका साथै नागरिकलाई स्वरोजगार बनाउन विभिन्न सिपमूलक तालिम समेत प्रदान गरिरहेको छ । 

एक वडामा एक नर्सरी, एक घर एक टनेल, एक घर एक मौरी तथा सुन्तला, कागती, आँप, अनार उत्पादन क्षेत्र विस्तार लगायतका कृषि कार्यक्रमहरू लोकप्रिय छन् । प्रदेश सरकारले पनि रानिपानी कुमाल गाउँलाई मुख्यमन्त्री कृषि नमुनाका गाउँको रुपमा विकास गरेको छ । किसानलाई व्यवसायीक रूपान्तरित गर्न पशुपालन, मौरीपालन, माछापालन, मासु उत्पादन, दुग्ध तथा पोल्ट्री जन्य बस्तु उत्पादन, वडा स्तरमा चिस्यान केन्द्र स्थापना तथा मिल्क क्यानको व्यवस्था, घाँसको नर्सरी स्थापना गरी कृषकलाई वितरण, गरिब विपन्नहरू लाई व्यवसायीक बनाउन सुँगुर,बाख्रा,कुखुरा वितरण जस्ता कार्यक्रम महत्त्व दिनुले गाउँपालिका साँच्चिकै किसानको सारथि बनेको छ । सहकारी मार्फत रोजगारी तथा कृषि सम्बन्धी लोकप्रिय कार्यक्रम सञ्चालन भएपछि हिजो आज यहाँका नागरिकको आर्थिक अवस्था मजबुत बन्दै गएको छ भने कृषि उत्पादन समेत वृद्धि हुँदै गएको छ । गाउँपालिकाले सुन्तला,धान,मकै जस्ता पकेट क्षेत्रको रुपमा विस्तार गर्दै त्यस्ता उद्यममा संलग्नहरूलाई गाउँपालिकाले सहयोग गर्दै आएको छ ।

कृषकको खातामा गाउँपालिकाको पैसा, कृषि एम्बुलेन्स सञ्चालन
विहादी गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्ने नीति अगाडी सारेको छ । कृषि उपज विक्री वितरणका लागि कृषि एम्बुलेन्स सञ्चालन गर्ने गरी आर्थिक बर्ष २०७८ र ०८ ९ को बजेट वक्तव्यमा रकम समावेश गरिएको छ । कृषकले उत्पादन गरेका तरकारी खेर जान नदिन तथा कृषकलाई कृषि उपज बजारीकरणमा सहजता ल्याउन गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउन लागेको हो । 

त्यस्तै गाउँपालिकाले कृषक बचतकोष समेत सञ्चालनमा ल्याएको छ । कृषकहरूलाई प्रोत्साहन तथा कृषि व्यवसायलाई व्यवस्थित बनाउन कृषक बचतकोष सञ्चालन गरिएको हो । अहिले ६ ओटै वडामा करिब दुई हजार कृषकको बैङ्क खाता खोली रकम जम्मा गरिसकिएको छ । जीवनमुखी खेतीबाट उत्पादनतर्फ लैजान र कृषकको बचत गर्ने बानीको विकास गर्न गाउँपालिकाले उक्त कार्यक्रम बढाइएको हो । 

एक घर एक कृषक, एक कृषक १ बचत खाता सञ्चालन गर्ने गाउँपालिकाको योजना हो । कृषकले आफ्नो बैङ्क खाता खोली मासिक ५ सय रुपैयाँ बैङ्कमा जम्मा गर्नुपर्नेछ र गाउँपालिकाले मासिक रुपमा कृषकको खातामा २ सय ५० रुपैयाँ जम्मा गरिदिने गरी कृषक बचतकोष कार्यविधि बनाइएको छ । त्यसरी बैकमा जम्मा भएको रकम कृषकले ५ बर्ष पछि मात्र आफ्नो इच्छाअनुसार खर्च गर्न पाउने छ । 

गाउँपालिकाले व्यवसायीक रुपमा राँगो पालन गर्ने किसानलाई वार्षिक १० हजार रकम अनुदान दिने भएको छ । १ वटा राँगो बराबर १० हजारका दरले रकम उपलब्ध गराउँदै आएको छ भने गाउँपालिकाले उन्नत जातको गाई तथा भैँसी पाल्ने किसानलाई प्रति एक गाई/भैँसी २० हजारका दरले अनुदान दिँदै आएको छ । 

त्यस्तै गाउँपालिकाले किसानलाई प्रोत्साहन गर्न किसानले उत्पादन गरेको प्रति लिटर दूधको ३ रुपैयाँ का दरले रकम समेत प्रदान गर्ने भएको छ । यहाँका किसानले १ लिटर दूध बराबरको बजार मूल्य भन्दा तिन रुपैयाँ बढी दूधको मूल्य पाउनेछन् । गाउँपालिकाले कृषिलाई समृद्धिको बलियो आधार मान्दै कृषि क्षेत्रको आधुनिकीकरण मार्फत उत्पादन र उत्पादकत्व वृद्धि गर्दै खाद्य सुरक्षाको प्रत्याभूत गरिने योजना अगाडी सारेको छ ।

शिक्षा क्षेत्रमा प्रत्येक विद्यालयमा आर.सी.सी. भवन
पछिल्लो तथ्याङ्क अनुसार ७२.८५ प्रतिशत साक्षर रहेको यस गाउँपालिकामा ३०  सरकारी विद्यालय र ३ बोर्डिङ गरी ३३ वटा विद्यालय मध्ये ९ वटा मा.बि., ७ वटा आधारभूत विद्यालय र १७ वटा प्रा.वि. रहेका छन् भने एक वटा सामुदायिक क्याम्पस रहेको छ । यी विद्यालयहरूमा कम्प्युटर शिक्षालाई अनिवार्य बाउनुका साथै आई.सी.टी., साइन्स ल्याब कक्षा सञ्चालन गरिएको छ भने पठन संस्कृतिको  विकास गर्न आधुनिक पुस्तकालयको स्थापना गरिएको छ । 

समावेशी तथा समतामूलक गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने, निरन्तर सिकाई तथा शिक्षण पद्धति, बालबालिकालाई विद्यालय पहुँचको सुनिश्चितताका साथै स्मार्ट कक्षाको नीति लिनु ले गाउँपालिका विद्यार्थीहरूको भविष्य तथा दक्ष जनशक्ति उत्पादनमा गम्भीर बनेको देखिन्छ । सबै विद्यालयमा ईन्टेरनेटको माध्यम बाट पठनपाठन गर्नुले पनि गुणस्तरीय शिक्षामा जोड दिएको प्रतीक हुन्छ । विद्यार्थीलाई सौहाद्रपुर्ण वातावरणमा पठनपाठन गराउन शिक्षण संस्थाहरूको भौतिक संरचनाको अवस्था पनि उत्कृष्ट छ । 

प्रत्येक विद्यालयमा नयाँ आरसिसी. भवन निर्माण भएका छन् भने केही शिक्षण संस्थाहरूमा भवन निर्माणाधीन छ । यहाँ केही  विद्यालयलाई नमुना बनाउने गरी योजना समेत अगाडी बढाइएको छ । नेपाल तारा मा.वि.मा प्राविधिक शिक्षालय लाई व्यवस्थित गर्न तथा स्नातक तहको पठनपाठन सञ्चालन गर्न आवश्यक पहल थालिसकिएको छ ।

१५ शय्याको अस्पताल बन्दै
गाउँको सबैभन्दा मुख्य समस्याको जड स्वास्थ्यमा हो । विशेषज्ञ स्वास्थ्य सेवा लिन बिरामी भए घण्टौँ लागेर  वालिङ, पोखरा, बुटवल जानुपर्ने बाध्यता छ । सामान्य आधारभूत तहको उपचार त यहाँ नागरिकले प्रत्येक वडाका स्वास्थ्य चौकी तथा क्लिनिक बाट गराएकै छन् । तर जटिल प्रकृतिको उपचारमा समस्या रहेको यहाँ अब भने त्यो समस्याको पनि अन्त्य हुदैछ । 

प्रत्येक स्थानीय तहमा ५ देखि २५ शय्याको अस्पताल बनाउने नेपाल सरकारको लक्ष्य अनुरूप यहाँ पनि विशेषज्ञ सेवा सहितको २५ शय्याको अस्पताल निर्माणको काम धमाधम भइरहेको छ । यसका अलवा प्रत्येक वडामा स्वास्थ्य चौकी र ३ वटा सामुदायिक स्वास्थ्य इकाई तथा नागरिकले सेवा पाइरहेका छन् । 

तत्कालको लागि विशेषज्ञ डाक्टर सहितको स्वास्थ्य सेवामा चुनौती देखिएता पनि स्वास्थ्य संस्थाको भौतिक संरचनाको अवस्था भने अब्बल छ । नागरिकलाई सहज बनाउन भौगोलिक स्वास्थ्य चौकी भन्दा टढा रहेका स्थानमा स्वास्थ्य इकाई तथा बर्थीङ सेन्टर स्थापना गरिएको छ । दश शय्याको कोरोना अस्पताल पनि यहाँ स्थापना गरिएको छ ।

औद्योगिक ग्राम निर्माण
यो गाउँपालिका यातायात सहजताको अलवा औद्योगिक क्षेत्रको कामलाई पनि तीव्र रुपमा अगाडी बढाइएको छ । सङ्घ र प्रदेश सरकारको एक स्थानीय तहमा एक उद्योग ग्राम नीति अनुरूप यहाँ पनि उद्योग ग्रामको निर्माणको काम तीव्र रुपमा भएको छ ।  स्थानीय उत्पादनमा आधारित उद्योगहरू  साना, मझौला र ठुलो उद्योगहरू उद्योग ग्राममा सञ्चालन भए पश्चात् रोजगारी सिर्जना, उत्पादन र उत्पादकत्वका साथै गाउँपालिका आत्मनिर्भरको मार्गमा उन्मुख हुने देखिन्छ । 

यसका साथै गाउँपालिकाको बर्राचौर र बाच्छामा रहेको विशाल ढुंगाखानी क्षेत्र, कालीगण्डकीमा रहेको बालुवा र यहाँको चुन ढुङ्गालाई प्रशोधन तथा अन्य निर्माण सामग्री उत्पादनको लागि यो उद्योग ग्राम उपयुक्त हुने देखिन्छ । कालिगण्डकी करिडोर सँग जोडिएको यो उद्योग ग्राम औद्योगिक सहर बुटवल सँग सिधा सम्पर्क भएकाले पनि यहाँ उत्पादित वस्तुको निकासीमा समेत सहजता पुग्छ ।

गाउँपालिकाको प्रशासनिक भवन र सबै वडा कार्यालयका भवन निर्माण
स्थापनाको वर्ष देखि भाडाको घर बाट सेवा दिइरहेको गाउँपालिकामा अहिले भने प्रशासनिक भवन निर्माण भई नयाँ भवन बाट सेवा दिन थालिएको छ । पाँच बर्षे कार्यकालमा कति स्थानीय तहले आफ्नो गाउँपालिकाको प्रशासनिक भवन निर्माण गर्न सके त्यो तर विहादी गाउँपालिकाले भने गाउँको सिंह दरबार तयार पारेको छ । 

अहिले नयाँ भवन बाट सेवा दिएको गाउँ कार्यपालिकाले साँच्चीकै स्थानीयलाई गाउँमा सिंहदरबार आएको महसुस गराएको छ । अत्याधुनिक सुविधा सम्पन्न प्रशासनिक भवनको काम र बहुउद्देश्यीय सभाहल निर्माण भएको छ । वडा बाट सञ्चालन हुने दैनिक सेवाहरूलाई चुस्त दुरुस्त बनाउन रानीपानी,बर्राचौर,शालिग्राम, उरामपोखरामा वडा कार्यालयको नयाँ भवन निर्माण भएको छ भने बाच्छा र वहाकीठाटीमा भवन निर्माणाधीन छ ।

पर्यटन बाट गाउँपालिकाको समृद्धि खोज्दैविहादी गाउँपालिका पर्वत जिल्लाको दक्षिण भेगमा अवस्थित एक अत्यन्तै सुन्दर गाउँपालिका हो । विहादी बहुभाषिक, प्राकृतिक सौन्दर्यता तथा ऐतिहासिक धार्मिक एवम् सांस्कृतिक विविधताले सम्पन्नशाली गाउँपालिका हो । रमणीय र पर्यटकीय स्थल, थरिथरिको समाज अनि एकता, फरक भूगोल, धार्मिक विविधता विहादी गाउँपालिकाको अपरिभाष्य विशेषता हो । उत्तर तर्फ देखिने माछापुच्छ्रे र धौलागिरि हिमाल,दक्षिण तर्फ देखिने मन्द गतिमा बग्ने कालिगण्डकी नदी तथा कालिगण्डकी जलविद्युत आयोजनाका क्रममा बनेको ताल, लट्टरम कृषि उत्पादन गरिरहेका फाँट, प्राकृतिक मनमोहक छटा, मननै लोभ्याउने प्राकृतिक डाँडा, खोला नाला, गुफा र झर्नाहरूले यस गाउँपालिकाको शोभा बढाइरहेका छन् । 

यस ठाउँको ब्राह्मण, मगर, कुमाल संस्कृति तथा सालैजो, झ्याउरे, रत्यौली, भजन जस्ता संस्कृति असाध्यै मनमोहक छ । यस ठाउँका मौलिकता बोकेका आकर्षक बस्तीहरूले सामाजिक एकता, सद्भाव र सहिष्णुताको सन्देश प्रवाह गरिरहेका छन् । बाइसे चौबिसे राजाहरूको पालामा अधीन स्थल मानिने यो गाउँपालिका धार्मिक, प्राकृतिक तथा पुरातात्त्विक सम्पदाको खुल्ला संग्रालय जस्तै हो ।

नेपाल सरकार र प्रदेश सरकारले घोषणा गरेको एक सय गन्तव्य भित्र पर्ने विश्वकै ठुलो शालिग्राम शिला यस गाउँपालिकाको मुख्य पर्यटकीय स्थल हो । नेपाली भक्तजनहरूको आस्थाको धरोहर मानिने शालिग्राम दर्शन गर्न वर्षमा लाखौँ मानिसहरू यहाँ आउने गरेका छन् । वैशाख र माघे सङ्क्रान्ति तथा ठुली एकादशीमा विशेष मेला लाग्ने यस ठाउँमा बाह्य तथा आन्तरिक पर्यटकको घुइँचो नै लाग्ने गर्दछ । 

कालिगण्डकी करिडोर सँग जोडिएको यस स्थानमा कालिगण्डकी जलविद्युतका क्रममा बनेको तालमा सञ्चालित स्टीम्वरहरु चढेर अलौकिक आनन्द लिन पाइने हुँदा यहाँका पर्यटकहरू आइरहने गर्दछन् । यो सँगै यस गाउँपालिकामा रहेको सबैभन्दा उचाइमा पर्ने गोल्र्याङधाम, बच्छेश्वर मन्दिर, बच्छेश्वरकोट, शिवपुरी धाम, छापाकोट मन्दिर, बाइसे चौबिसे राज्यताकाको ऐतिहासिक लुरिङ्गकोट , शीतल गुफा, रानिपानि दरबार गुफा, रम्भा देवी मन्दिर,खड्ग देवी मन्दिर, गौरा देवीथान देउराली डाँडा लगायतका स्थानहरू महत्त्वपूर्ण पर्यटकीय स्थलका रुपमा चिनिन्छन् । यी स्थानमा पर्यटन पूर्वाधार निर्माणको काम कतै सम्पन्न भइसकेको छ भने कतै हुदैछ ।

पर्यटकीय आकर्षणका प्याराग्लाइडिङ, होमस्टे र पदमार्ग निर्माण
यहाँका बच्छेश्वर, सालडाँडा, छाप र गेप्ताङमा रहेका सामुदायिक होमस्टेहरू अतिथिको स्वागत सत्कारको लागि आतुर छन् । यहाँका होमस्टेमा पाइने अर्ग्यानिक खानाका साथै पृथक् संस्कृति लोभ लाग्दो छ । यी होमस्टेहरू गण्डकी प्रदेश सरकारको अनुदान र गाउँपालिकाकाको प्रवर्द्धनमा स्थापना भएका हुन् ।

गाईथुने हदै बच्छेश्वर पदमार्ग, कालिगण्डकी-आपालय-रम्भादेवी हुँदै लामाचौर पदमार्ग तथा सेतीवेणी-सिमल भञ्ज्याङ-छापाकोट जाने पदमार्ग निर्माण भएको छ । यसले ग्रामीण पर्यटनलाई जोडेको छ । यहाँका लामा तथा छोटा पदमार्गहरूले विहादी गाउँपालिकालाई हाइकिङ हबको रुपमा परिचित बनाउन थालेको छ । कालिगण्डकीमा र्याफ्टिङ समेत सञ्चालन हुँदै आएको यस गाउँपालिकाको लामाचौर बाट प्याराग्लाइडिङको सफल परिक्षण पश्चात् प्याराग्लाइडिङ नियमित उडानका लागि भौतिक पूर्वाधारको काम सम्पन्न भएको छ । प्रदेश सरकारको उक्त स्थानमा पूर्वाधार निर्माण गर्न २० लाख रकम विनियोजन गरेको थियो । अब बाँकी नियमित उडानको लागि सम्बन्धित कम्पनीहरू सँग छलफल भइरहेको छ । 

खानेपानीमा कायपलटविहादी गाउँपालिकाका एका दुई स्थानमा बाहेक अन्य स्थानमा खानेपानीको चरम समस्या थियो । उक्त समस्याको समाधान गर्न एक घर एक धाराको नीति अगाडी सार्‍यो । सबै घरमा स्वच्छ खानेपानी पुर्‍याउने उद्देश्य अनुसार गाउँपालिकाले सङ्घ र प्रदेश सरकारको लगानी तथा सह लगानीमा खानेपानीको विस्तारलाई समेत अगाडी बढाएको छ । उरामपोखरामा र बाच्छामा खानेपानी सबै घरमा पुगेको छ भने रानीपनीको साबिक वडा नं. ३ र २ अनि बर्राचौरका ४ ओटा वडाहरूमा लिसे गैह्रा खानेपानी आयोजनाले कभर गरेको छ ।

यहाँ रुम्टा, अरेवा, शालिग्राम जस्ता बृहत् लिफ्ट खानेपानी आयोजनाको काम सम्पन्न हुने चरणमा छ । उत्त योजनाको ९० प्रतिशत भन्दा बढी काम सम्पन्न भएको छ । उक्त खानेपानी आयोजना यहीँ आर्थिक बर्ष भित्र बाट नै सञ्चालनमा आउनेछ । खानेपानीको समस्या भोगेका शालिग्राम, रानीपानी तल्लो भेगका नागरिकहरूले अब भने खानेपानीको समस्या बाट मुक्ति पाएका छन् । साथै वहाकी र बराचौर खानेपानी आयोजना निर्माणाधीन छन् भने साना खानेपानी आयोजनाको काम सकिएको छ । यी ठुलो आनेपानी आयोजना अब केही दिनमै सम्पन्न भई आफ्नो घरमै स्वच्छ खानेपानी पिउन पाए पछि यहाँका नागरिकहरूमा खुसीको सीमा नै हुनेछैन ।

४ ठुला खेलमैदान निर्माणगाउँपालिकाले खेलकुदको विकासलाई पनि उत्तिकै महत्त्व दिएको छ । दक्षिण पर्वतको उत्कृष्ट खेलमैदान मानिने ईमिचौरमा मिनी रङ्गशाला बनाउन प्रदेश सरकारको सहकार्यमा काम अगाडी बढेको छ भने बाच्छा, माझगाउँ, आपालय लगायतका स्थानमा खेलमैदान निर्माण गरिएको छ । खेलमैदान निर्माण भएसँगै खेलप्रेमीहरु दक्ष खेलाडी उत्पादन समेत हुन थालेको छ । 

पार्कले गाउँपालिकाको शोभा
विहादी गाउँपालिकामा निर्माण भएका पिस पार्कहरूले गाउँपालिकाको शोभा बढाउनुका साथै प्रकृतिमा रमाउने र शान्त एवं आध्यात्मिक वातावरण खोज्ने सबैको रोजाइ बनेको छ । विहादी गाउँपालिका वडा नं. ३ रानीपानी पोखरीचौरमा पिस पार्क निर्माण गरिएको छ । 

हाइड्रो तथा सहज सिँचाइको लागि नहर,कुलो निर्माण 
वडा नं. १ देखि वडा नं. ६ सम्म बग्ने कालिगण्डकी नदी सहित बाच्छा खोला, सेती खोला, सिउदी खोला यहाँका नदी हुन । यी नदी तथा खोलाहरूले यहाँको खेतीयोग्य जमिनलाई सिञ्चित गरेको छ भने सेती खोलामा ३ मेगावाट जलविद्युत परियोजनाको काम भएको छ । कालिगण्डकी बि जलविद्युत आयोजनाको अध्ययन अनुसन्धानको काम समेत भइरहेको छ । 

यसका साथै बाह्रैमास सिँचाइको व्यवस्था गर्न सिँचाइ नहर तथा कुलो निर्माणको काम समेत भएको देख्न सकिन्छ । बाच्छा नहर, गुहेखोला कुडादी कुलो, असीमुरे कुलो, उरामपोखरा, छचन्ने सिँचाई नहर, लामगरा, खहरे खोला, ढकाले कुलो, सिउदीखोला नहर, शालिग्राम कुलो, खन्तरे–भाटीचौर कुलो, जलकुनी–बिरुवारी कुलो लगायतका सयौँ साना तथा ठुला कुलो तथा नहर निर्माण गरिएको छ ।

विद्युतीय काठे पोल विस्थापन
विहादी गाउँपालिकामा प्रायजसो सबै वडामा काठेपोल थिए । काठका पोलले विद्युत् प्रवाहमा निकै समस्या हुन्थ्यो । काठका पोललाई हावाहुरीले ढाल्दा विद्युत् सप्लाइमा समस्या हुँदा स्थानीय अन्धकारमा बस्न बाध्य थिए । अहिँलेभने गाउँपालिका भित्र सबै काठका पोल विस्थापित गरी फलामे पोल राखिएको छ । विद्युत् प्रवाह निर्बाध रुपमा भएको छ । 

न्यायिक समितिप्रति स्थानीयको विश्वास उत्तिकै
न्यायिक समितिले स्थानीय रुपमा सिर्जना हुने झैँ झगडा तथा आफ्नो अधिकार भित्रको मुद्दा मामिला निरूपण गर्न थालेपछि नागरिकलाई घरदैलोको सरकारको अनुभूत हुन थालेको छ । गाउँपालिकाका उपाध्यक्षको संयोजकत्वमा पाँच सदस्य न्यायिक समिति गठन गरी स्थानीयस्तरमा हुने विवाद समाधान गर्न न्यायिक समिति सदैव तत्पर रह्यो सके सम्म स्थानीय स्तरमै धेरै मुद्दाहरू मिलाउन सफल भयो । त्यसले पनि न्यायिक समिति प्रति स्थानीयको विश्वास बढ्यो । यसका साथै सबै जातजाति, समुदायलाई समानान्तर हिसाबले अवसर र पहुँच विस्तार हुँदा पछाडि परेका समुदाय तथा महिलाहरूको जागरण र सशक्तीकरण बढेको पाइन्छ ।

प्रहरी चौकी स्थापना तथा भवन निर्माण
नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउने प्रहरी चौकीको भवन नहुँदा प्रहरीहरूले निकै दुख कष्ट व्यहोर्नुपर्ने अवस्था थियो । जसले चुस्त दुरुस्त सुरक्षा प्रवाहमा समस्या पैदा हुन्थ्यो । अहिले भने रानीपानी प्रहरी चौकीको भवन निर्माण गरिएको छ । त्यस्तै गाउँपालिका केन्द्रमा एक प्रहरी चौकी पनि स्थापना गरिएको छ । विहादी गाउँपालिकामा बाच्छा,शालिग्राम,रानीपानी र लिङसिङ वहाकीमा प्रहरी चौकी छ ।

शिक्षा क्षेत्रमा भएका कामहरू
वाल कक्षा क्रमशः मा.वि.सम्म आवश्यकता अनुसार नेपाली/अङ्ग्रेजी दुवै माध्यमबाट अध्यापनको व्यवस्था गरिएको छ । गाउँपालिकाले शुरु गरेको दिवा खाजा कार्यक्रम नेपाल सरकारले सशर्त अनुदान मार्फत कक्षा १ देखी ५ सम्म यो कार्यक्रम लागु गरेको छ ।

विद्यालय शिक्षाको पहुँचबाट वञ्चित गराइएका बालबालिकाका अभिभावक तथा परिवारहरूलाई वडा तथा गाउँपालिकाबाट प्रदान गरिने सेवा सुविधामा आंशिक वा पूर्ण रुपमा बन्देज लगाउन सक्ने नीति लिएको छ । गाउँपालिका भित्र व्यावसायिक प्राविधिक शिक्षाको शुरुवात गरिएको छ । एक शिक्षक एक ल्यापटपको र एक कक्षा एक प्रोजेक्टरको नीति अवलम्बन गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button