तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा औषधी अभाव 

कञ्चनपुर । कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा औषधी अभाव भएको छ । 

विगत दुई महिनादेखि अस्पतालको सामाजिक सेवा इकाइमा औषधी अभाव भएको हो । 

वृद्ध वृद्धाहरू र गरिवका लागि निःशुल्क औषधी उपलब्ध गरिने भए पनि औषधी अभाव रहँदा बिरामीहरूले बाहिरबाट औषधी खरिद गर्नुपर्ने बाध्यता रहेको छ । 

महाकाली प्रादेशिक अस्पतालको सामाजिक सेवा इकाइले १ हजार ४५ किसिमका औषधी निःशुल्क दिने व्यवस्था गरेको छ । तर अहिले १ सय ८४ किसिमका औषधी अभाव रहेको अस्पताल प्रशासनले जनाएको छ ।  
 आर्थिक वर्षको अन्तिम तीन महिना बाँकी रहँदा अस्पतालले भने निकासा भएको बजेटबाट औषधी खरिद गर्न सकेको छैन । तर अभाव रहेका औषधी अस्पताले बाहिरबाट खरिद गर्न लगाउने गरेको छ । 

औषधी खरिदका लागी टेन्डर समेत आह्वान नभएको अस्पताल प्रशासनले बताएको छ । 

महाकाली अस्पतालका सूचना अधिकारी उषा भट्टले औषधी खरिद प्रक्रिया अगाडी नबढाइँदा समस्या भएको बताउनुभयो  । औषधी खरिदका बजेट अभाव रहेको र न्यून बजेट विनियोजन गरिदा औषधी खरिद गर्न नसकिएको उहाँले बताउनुभयो । 

यस वर्ष अस्पतालमाका लागि २० लाख रुपैयाँ निकासा भएको छ । जसले कार्यालय खर्च, तलब भत्तामा समेत अपुग रहने अवस्था रहेकाले औषधी खरिदको प्रक्रिया अगाडि बढ्न नसकेको उहाँले जानकारी दिनुभयो । 

गत वर्ष औषधी खरिदका लागि अस्पतालमा ७० लाख रुपैयाँ विनियोजन भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button