‘पर्यटन प्रवर्द्धनका लागि स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण’
बीरगंज । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मधेशको जीवनसँग जोडिएको चुरे संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्न व्यवस्थित योजना बनाएर अगाडी बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

बाराको निजगढमा चुरे संरक्षण तथा पर्यटन प्रवर्द्धन फाउन्डेसन नेपालको प्रथम राष्ट्रिय परिषद् सम्मेलन तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले चुरे क्षेत्रको संरक्षण गरी पर्यटन प्रवर्द्धनका लागि स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो ।
मधेश प्रदेश कृषिको उर्वर क्षेत्र भएको र चुरे मधेशको जीवनसँग जोडिएको हुँदा कृषि उत्पादन र उत्पादकत्व बढाएर राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ तुल्याउन समेत चुरेको संरक्षण हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
मुख्यमन्त्री राउतले मधेश प्रदेशको उर्वर भूमिको उपयोग गर्दै कृषिको आधुनिकीकरण र व्यावसायिकीकरण गरी कृषि, उद्योग र औद्योगीकरणसँगै पर्यटन प्रवर्द्धनबाट मात्रै मधेशको समृद्धि हुने बताउनुभयो ।
उहाँले प्राकृतिक, सांस्कृतिक सम्पदा संरक्षण सहित आधुनिक सहर र बस्तीको पूर्वाधार विकास गर्दै मधेशलाई हरियाली, वातावरणमैत्री बनाउन प्रदेश सरकार लागिपरेको बताउनुभयो ।
चुरे संरक्षण तथा पर्यटन प्रवर्द्धन फाउन्डेसन नेपालका संयोजक युवराज लामाको अध्यक्षतामा आयोजित प्रथम राष्ट्रिय परिषद् सम्मेलन तथा प्रशिक्षण कार्यक्रम वैशाख ७ गते सम्पन्न हुने कार्यक्रम रहेको छ ।






प्रतिक्रिया राख्नुहोस्