तपाईँ सुन्दै हुनुहुन्छः

छोरी सुरक्षा कार्यक्रम : ३ वर्षमा जुम्लाका २२ सय बढी छोरीको नाममा बैङ्क खाता

जुम्ला । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ बाट सञ्चालन गरेको छोरी सुरक्षा कार्यक्रममा जुम्लाका २ हजार २ सय ६५ जना छोरीको नाममा बैङ्क खाता खोलिएको छ । कार्यक्रम सञ्चालन भएको तीन वर्षमा २२ सय बढी छोरी कार्यक्रममा समेटिएका हुन् ।   

२०७६ साउन १ गतेपछि जन्मिएका  छोरीहरूको बैङ्क खाता खोलिएको हो । जसमा बितेको ३ वर्षमा २ हजार २ सय ६५ जना छोरीको नाममा बैक खाता खोलिएको सामाजिक विकास कार्यालय जुम्लाको तथ्याङ्क छ । 

जुम्लाका आठै स्थानीय तहले छोरी सुरक्षा कार्यक्रम सञ्चालन गरिरहेको सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख तुलाराज चौलागाईले बताउनुभयो । उहाँका अनुसार छोरी सुरक्षा कार्यक्रममा कनकासुन्दरीका २ सय ३५ जना, हिमाका २ सय २ जना र तातोपानीका ३ सय १८ जना छोरीको खाता खोलिएको छ । 

त्यस्तै, गुठीचौरका २ सय २२ जना, तिलाका ३ सय ३५ जना, चन्दननाथका २ सय ९३ जना, सिंजाका ४ सय १५ जना र पातारासी गाउँपालिकाका २ सय सय ४५ जना गरी २ हजार २ सय ६५ जना छोरी सुरक्षा कार्यक्रममा समेटिएको प्रमुख चौलागाँईको भनाई छ ।

उहाँले भन्नुभयो,“७६ साल साउन १ गतेपछि छोरी जन्मिएको ४५ दिनभित्र आवश्यक कागजात पूरा गरी बैङ्क खाता खोल्नुपर्ने व्यवस्था रहेको छ । छोरीलाई माध्यमिक शिक्षा सम्मको पहुँच वृद्ध गर्न, लैङ्गिक विभेदको अन्त्य गर्न,बालविवाह अन्त्य गर्न, छोरी सुरक्षा कार्यक्रम प्रभावकारी हुने छ । एक दम्पतीको दुई जना छोरीले मात्र यो कार्यक्रममा समावेश हुन पाउने प्रावधान छ ।” 

चन्दननाथमा अपेक्षित रुपमा छोरी सुरक्षा कार्यक्रममा लक्षित वर्ग नसमेटिएको उहाँको भनाई छ । खाता खोल्दा सुरुमा १ हजार र मासिक पाँच सयका दरले २० वर्षसम्म छोरीको खातामा जम्मा १ लाख २० हजार रकम जम्मा हुने छ । कार्यक्रममा समेटिए पनि २० वर्ष नपुग्दै विवाह गरेमा भने सेवा सुविधा पाउने छैनन् । 

पर्याप्त प्रचारप्रसार नहुनु, झन्झटिलो प्रक्रिया तथा र पालिकाका कर्मचारीको ढिलासुस्तीले अधिकांश स्थानीय छोरी सुरक्षा कार्यक्रमबाट छुटेको सिंजाका स्थानीय जयशंकर धितालले बताउनुभयो । उहाँले आफु धेरै पटक छोरीको खाता खोल्न जाँदा पालिकाका कर्मचारीको ढिलासुस्तीले अहिले सम्म खाता खोल्न नपाएको उल्लेख गर्नुभयो । 

तीन वर्ष सम्म २२ सय ६५ छोरी मात्रै कार्यक्रममा समेटिनु लक्ष्य अनुसार प्रभावकारी नभएको जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले बताउनुभयो । प्रचारप्रसारलाई जोड दिएर जन्मिएका सबै छोरीलाई कार्यक्रममा समेट्न सुझाव दिनुभयो । जुम्लाका २२ सय ६५ छोरीले २० वर्षपछि १ लाख २० हजार रुपैयाँ प्रतिछोरीले पाउने छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button