‘क्याम्प टु’ सम्म आरोहणका लागि बाटो निर्माण सकियो
सोलुखुम्बु । सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो निर्माणको काम सम्पन्न भएको छ । सगरमाथा प्रदूषण नियन्त्रण समिति नाम्चेको आयोजनामा छ जना आइसफल डाक्टर सहित नौ जनाको टोलीले सगरमाथा आधार शिविरबाट निर्माण सुरु गरेको आरोहणको बाटो सम्पन्न गरेको हो ।

‘स्प्रिङ’ सिजनको सगरमाथा आरोहणको समय सुरु भएपछि आइसफल डाक्टरको टोलीले चैतको दोस्रो साताबाट बाटो निर्माण थालेको थियो । हिउँमा बाटो बनाउने अनुभवी र दक्ष व्यक्तिलाई आइसफल डाक्टर भन्ने गरिन्छ । आङसर्की शेर्पाको नेतृत्वमा निर्माण सकिएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसि) नाम्चेकी सूचना अधिकारी याङ्जीडोमा शेर्पाले जानकारी दिनुभयो । वर्षौँ अघिदेखि सगरमाथाको बाटो बनाउने काम सरकारले एसपीसीसीलाई जिम्मा दिने गरेको छ ।
हरेक बर्ष हिउँ परेर बिग्रिएको पुरानो बाटो पहिल्याउँदै नयाँ बाटो निर्माण गर्ने गरिन्छ । आइसफल डाक्टरहरूले आल्मुनियमका भर्याङ जोडेर सगरमाथाको चुचुरोसम्म पुग्ने बाटो निर्माण गर्नेछन् । आइसफलदेखि क्याम्प–२ सम्म खर्पसमा हिउँ जम्मा भएको बाटो सफा गर्ने, डोरी टाँग्ने र भर्याङ राख्ने काम गरेपछि मात्र आरोही सगरमाथाको चुचुरोसम्म पुग्न सक्छन् ।
बाटो खुलाउने जिम्मेवारी लिएको एसपीसीसीले बाटो खुलाएर अनुमति दिएपछि मात्रै आरोही तथा आरोहण व्यवसायीहरू दोस्रो शिविरसम्म जान पाउँछन् । आरोहणका लागि शरीरलाई अनुकूल बनाउन आरोही आधार शिविरबाट दोस्रो शिविरसम्म जाने र फर्कने गर्ने भएकाले दोस्रो शिविरमा चाँडै क्याम्प खडा गर्ने काम हुन्छ ।
यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि अहिलेसम्म २१ वटा समूहका दुई सय जनाले अनुमति लिइसकेका छन् । त्यस्तै, ल्होत्से हिमाल आरोहणका लागि ५२ जना र नुप्त्से हिमाल आरोहणका लागि २३ जनाले अनुमति लिएको पर्यटन विभागको तथ्याङ्क रहेको छ ।






प्रतिक्रिया राख्नुहोस्