सल्यानका ८४ हजार बालबालिकालाई टाइफाइडको खोप लगाइँदै

सल्यान । सल्यानका ८४ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने भएको छ ।
स्वास्थ्य सेवा कार्यालय सल्यानले १५ महिनाभन्दा माथि र १५ वर्षभन्दा तल उमेर समूहका ८४ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने भएको हो ।
कार्यालयका अनुसार जिल्लाका १० वटै पालिकामा यही चैत्र २५ गतेबाट खोप अभियान सञ्चालन गरिने भएको छ ।
स्वास्थ्य सेवा कार्यालय सल्यानले १५ महिना देखि ४ वर्ष सम्मका १७ हजार ९ सय ८३ बालबालिकालाई ए .एम. आइर्. एस अनुसार र ५ देखि १५ वर्ष सम्मका ६६ हजार ५३ बालबालिकालाई विद्यालयको तथ्यगत आधारमा टाइफाइड विरुद्ध खोप लगाइने जानकारी गराएको हो ।
खोप लगाउनको लागि जिल्लाभर ४ सय ९ वटा खोप केन्द्र तोकिएको छ भने ५ सय ९० जना स्वास्थ्यकर्मी र १ हजार १ सय ३२ जना स्वास्थ्य स्वयंसेविकालाई खटाइने निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार चैत २५ गते देखि वैशाख ९ गतेसम्म खोप अभियान लगाइने छ ।
शारदा नगरपालिकामा चैत २५ गतेदेखि चैत ३० गते सम्म, बनगाड कुपिण्डे नगरपालिकामा चैत २७ गतेदेखि चैत्र २ गतेसम्म, बागचौर नगरपालिकामा चैत २८ गते देखि वैशाख ४ गतेसम्म टाइफाइड विरुद्धको खोप लगाइने भएको छ ।
यस्तै, कालीमाटी गाउँपालिका, दार्मा गाउँपालिकामा चैत २५ गतेदेखि चैत ३० गतेसम्म, त्रिवेणीमा चैत २७ गतेदेखि चैत २, कुमाख गाउँपालिकामा चैत २७ गतेदेखि वैशाख ४, छत्रेश्वरी गाउँपालिकामा चैत २७ गतेदेखि वैशाख २ गतेसम्म, कपुरकोट गाउँपालिकामा वैशाख ४ गतेदेखि ९, सिद्धकुमाख गाउँपालिकामा वैशाख ३ गतेदेखि ८ गतेसम्म खोप लगाइने श्रेष्ठको भनाई छ ।
एसइईलाई मध्यनजर गर्दै हरेक विद्यालयमा गएर स्वास्थ्यकर्मीले खोप लगाउने उहाँको भनाई छ ।
जिल्लामा ६० हजार भाईल खोप आई सकेको र बाँकी आउने क्रममा रहेको निमित्त स्वास्थ्य व्यवस्थापन दशरथ श्रेष्ठले बताउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्