डिजिटल प्रविधिबाट सेवा दिँदै तातोपानी गाउँपालिका

जुम्ला । तातोपानी गाउँपालिकाले आफ्ना सेवा प्रवाहलाई छिटो छरितो र सहज बनाउन डिजिटल प्रविधिबाट सेवा दिन थालेको छ ।
प्रमुख प्रशासकीय अधिकृत मिलन बढ्थापाले माघमै योजना सम्झौता सक्नेदेखि डिजिटल गाउँपालिका निर्माणको अवधारणालाई अघि सारिएको बताउनुभयो ।
चालु आवका सबै योजना सम्झौता सकेर निर्माण प्रक्रियामा रहेका छन् ।
जुम्लाका ८ स्थानीय तह मध्य जिल्लाकै पहिलो स्थानीय तहका रुपमा तातोपानीले ईन्टरयाक्टीभ बोर्ड पालिकाको भवनमा जडान गरी सञ्चालनमा ल्याएको छ ।
प्रविधिको अधिकतम प्रयोग गर्दै सेवा प्रवाहलाई छिटो छरितो र प्रविधिमैत्री बनाउन ईन्टरयाक्टीभ बोर्डदेखि डिजिटल नागरिक बडापत्र सञ्चालनमा ल्याउन थालिएको हो ।
“ईन्टरयाक्टीभ बोर्ड जडान भएर पालिकामा दैनिक हुने कार्यक्रमको सूचना, गाउँ सभाको सूचना लगायत अन्य गतिविधिको जानकारी दिने काम भइरहेको छ । त्यस्तै डिजिटल नागरिक बडापत्र ल्याइसकेका छौ ।”, उहाँले भन्नुभयो, “तर इन्टरनेट बत्ती र राख्ने स्थान अभाव भएर सञ्चालनमा समस्या भइरहेको छ । छिटै सञ्चालन हुन्छ ।”
डिजिटल नागरिक बडापत्रले भुक्तानी लिने वा योजना सम्झौता गर्ने ? सिफारिस लिने वा केही सोधपुक्ष गर्ने ? राहत क्षतिपूर्ति लगायत पालिकाबाट कुन सेवा लिँदा के के कागजात चाहिन्छ ? कसलाई भेट्ने लगायतका सबै कुरा बटन थिचेमा मेसिनले सबै जानकारी दिने सिस्टम जडान गरिएको छ ।
त्यस्तै तातोपानीले राजश्व सङ्कलनमा पनि अनलाइन प्रणालीको सुरुवात गरेको छ । तिरो तिर्न वडा, गाउँपालिका राजश्व कार्यालय जानै पर्ने झन्झटको अन्त्य गर्दै अनलाइनबाटै राजश्व भुक्तानी तथा राजश्व सङ्कलन गर्ने प्रणाली लागु भएको छ ।
ईन्टरयाक्टीभ बोर्ड ४ लाखभन्दा बढीको लागतमा खरिद गरिएको पालिकाले जनाएको छ ।
पालिकालाई डिजिटल बनाउने प्रयास जारी भए पनि सुस्त इन्टरनेट, बत्तीको अभावले समस्या भएको प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले उल्लेख गर्नुभयो ।
नेपाल पत्रकार महासङ्घ जुम्लाका सचिव मानदत्त रावलले सूचनाको युगमा प्रविधिमैत्री सेवा प्रवाहलाई जोड दिनु खुसीको कुरा भएको बताउनुभयो । तातोपानीले आफ्नो पाँच वर्षे अवधिमा आफ्नै एम्बुलेन्स सञ्चालन, डिजिटल पालिकाको अवधारणादेखि पूर्वाधार विकासमा मारेका फड्कोलाई सकारात्मक र अनुकरणीय रुपमा लिनु पर्ने उहाँको भनाई छ ।






प्रतिक्रिया राख्नुहोस्