पाँचथरमा ५१ हजार बढी बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने
पाँचथर । पाँचथरमा यही चैत २५ देखि २९ गतेसम्म बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने तयारी गरिएको छ । जिल्लाका १५ महिनादेखि १५ वर्ष सम्मका ५१ हजार ५ सय ३९ बालबालिकालाई खोप लगाउन लागिएको हो ।
७ गाउँपालिका र १ नगरपालिका रहेको जिल्लामा २६२ वटा खोप केन्द्र निर्धारण गरेर एकै साथ टाइफाइडविरुद्धको खोप लगाउने तयारी गरिएको छ ।
टाइफाइड रोगको सङ्क्रमण र यसबाट हुने जटिलतालाई न्यूनीकरण गर्न नेपाल सरकार, स्वास्थ्य मन्त्रालयको नीति अनुसार जिल्लाका सबै स्थानीय तहमा एकैसाथ खोप अभियान सञ्चालन गर्ने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख तेज बहादुर तुम्बापोले जानकारी दिनुभयो । टाइफाइड रोगको सङ्क्रमण सबै उमेर समूहमा हुन्छ, तर १५ वर्षमुनिका बालबालिकामा ११ गुणा बढी हुने एक अध्ययनले देखाएको छ ।
टाइफाइड रोगविरुद्धको खोप अभियानअन्तर्गत मङ्गलवार जिल्लास्थित कार्यालय प्रमुख, सुरक्षा निकाय तथा पत्रकारसँग स्वास्थ्य कार्यालयले अन्तर्क्रिया गरेको छ । अन्तर्क्रियामा सहभागी जिल्लास्थित सबै सरोकारवाला व्यक्ति तथा निकायले टाइफाइडविरुद्धको खोप अभियान सफल बनाउन आ–आफ्नो क्षेत्रबाट सहयोग गने प्रतिबद्धता जनाएका छन् ।
खोप लगाएपछि सामान्य लक्षणहरू देखा पर्ने भनिएको छ । खोप लगाएपछि देखिने लक्षणबाट नआत्तिन र गम्भीर समस्या आइपरेमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गर्न जिल्ला स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।
जिल्लामा सञ्चालन गर्न लागिएको खोप अभियानमा ३४० स्वास्थ्यकर्मी र ६२० स्वयंसेविका परिचालन गरिएको जनाइएको छ ।
एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन प्रणालीको प्रतिवेदनअनुसार नेपालमा विगत पाँच वर्षको तथ्याङ्कअनुसार हरेक वर्ष करिब चार लाख ५० हजार जनामा टाइफाइडको सङ्क्रमण हुने गरेको तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्कअनुसार दुर्षित पानी र खानेकुराबाट हुने सङ्क्रामक रोगमध्ये टाइफाइड तेस्रो स्थानमा रहेको र अस्पताल भर्ना हुने बिरामीमध्ये चौथो कारण टाइफाइड नै भएको देखिएको छ ।







प्रतिक्रिया राख्नुहोस्