तपाईँ सुन्दै हुनुहुन्छः

जनतामा फेरि माओवादीप्रति जागरण पैदा भएको छ : प्रचण्ड

नेपालगन्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनतामा फेरि माओवादीप्रति जागरण पैदा भएको बताउनुभएको छ ।

पार्टीको राजनैतिक प्रशिक्षण कार्यक्रमलाई आज नेपालगन्जमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मुलुक पटक पटक सङ्कटमा परेका बेला माओवादीको अगुवाइमा नै मुलुकले निकास पाएको दाबी गर्दै नेपाली जनताले अहिले फेरि आफ्नो पार्टीलाई भरोसा गरिरहेको बताउनुभयो । विगतमा केही कमीकमजोरी भएको स्विकार्दै उहाँले अब पार्टीले कुनै कमजोरी नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रचण्डले लुम्बिनी प्रदेशमा सम्पूर्ण शक्तिका साथ पार्टीलाई पहिले भन्दा सफलता दिलाउनतर्फ लाग्न आह्वान गर्नुभयो । उहाँले तराई मधेसमा माओवादीको लहर देखिएको दाबी गर्नुभयो । 

आजै नेपालगन्जमा पार्टीका नेता स्वर्गीय दामोदर आचार्यको श्रद्धाञ्जली सभामा बोल्दै अध्यक्ष प्रचण्डले पार्टीले एक इमान्दार र निष्ठावान् नेता गुमाएको बताउनुभयो । शोकलाई शक्तिमा बदल्दै नेपालगन्जको सङ्गठन निर्माणमा जुटेर स्वर्गीय आचार्यको सपना पूरा गर्न नेता कार्यकर्तालाई आह्वान गर्नुभयो । प्रचण्डले स्वर्गीय आचार्यको सम्मानका लागि मरणोपरान्त केन्द्रीय सदस्य मनोनयनका लागि प्रस्ताव गर्ने बताउनुभयो ।

श्रद्धाञ्जली  सभामा नेताहरू कृष्णबहादुर महरा, लिलामणि पोख्रेल, जीवन गौतम, पूर्णा कुमारी सुवेदी, आचार्यकी धर्मपत्नी पार्वता आचार्यले आचार्यको व्यक्तित्वबारे बोल्नुभएको थियो । नेपालगन्ज निवासी माओवादी लुम्बिनी प्रदेश कमिटी सदस्य आचार्यको क्यान्सरका कारण निधन भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button