बिमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धिले बिमाप्रतिको जनविश्वास अभिवृद्धि गर्ने

काठमाडौँ । बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमा कम्पनीहरूलाई बलियो बनाउने, प्रशासनिक लागत घटाउने, सेवाको गुणस्तर बढाउने र बिमाप्रतिको जनविश्वास अभिवृद्धि गर्ने उद्देश्यले बिमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धि गर्ने निर्णय गरिएको बताउनुभएको छ ।
ललितपुरको कुपण्डोलस्थित बिमा समितिको कार्यालयमा बिमा कम्पनीहरूका सञ्चालक समितिका अध्यक्षहरूसँग समसामयिक विषयमा आज भएको छलफल कार्यक्रममा अध्यक्ष सिलवालले धेरै लामो गृहकार्य गरेर बिमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धि गर्ने निर्णय गरिएको स्पष्ट गर्नुभयो ।
“बिमा कम्पनीहरूको पुँजी कम छ, कम्पनीहरूको मुनाफा घट्दैछ, प्रशासनिक लागत बढ्दैछ, बिमाको दायरा बढ्दै गएको छ, कम्पनीहरूको दक्षता बढ्न सकेको छैन” अध्यक्ष सिलवालले भन्नुभयो, “बिमा कम्पनीलाई बलियो बनाउने कार्यको यो शुरूवात हो, पुँजी वृद्धिको योजना धेरै अगाडि देखिको हो, पुँजी पुर्याउन नसके मर्जरमा जानुपर्छ, कम्पनीको महत्त्वपूर्ण आधार भनेकै पुँजी हो, यो सबैको हितमा आएको छ र यसमा केही अप्ठ्यारो परे त्यो फुकाउन समिति तयार छ ।”

अध्यक्ष सिलवालले समितिले नयाँ जीवन तथा निर्जीवन कम्पनीहरू दर्ता नगर्ने जानकारी दिनुहुँदै तोकिएको अवधिभित्र चुक्ता पुँजी वृद्धिको योजना ल्याउन र तोकिएको पुँजी पुर्याउन नसके मर्जरमा जान बिमा कम्पनीहरूलाई आग्रह गर्नुभयो ।
बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बिमा कम्पनीहरूले प्रस्तुत गर्ने चुक्ता पुँजी वृद्धिको योजनामाथि छलफल गरेर देखिएका अप्ठ्यारा फुकाउन समिति तत्पर रहेको जानकारीदिनुभयो ।
कार्यक्रममा बिमा कम्पनीका सञ्चालक समितिका अध्यक्षहरूले बिमा समितिले गरेको चुक्ता पुँजी वृद्धिको निर्णय पालना गर्न आफूहरू तयार रहेको बताउँदै पुँजी वृद्धिमा समस्या परे त्यसको समाधान गर्न अभिभावकका रूपमा बिमा समिति तयार हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा बिमा समितिका निर्देशकहरू सुशीलदेव सुवेदी, पूजन ढुङ्गेल (अधिकारी) र दिनेश कुमार लाल सहभागी हुनुहुन्थ्यो ।







प्रतिक्रिया राख्नुहोस्