तपाईँ सुन्दै हुनुहुन्छः

जीर्ण पुलबाट आवतजावत गर्दै कालीमाटी गाउँपालिकाका स्थानीय 

सल्यान । जिल्लाको कालीमाटी गाउँपालिका–१ मागेका स्थानीय जीर्ण झोलुङ्गे पुलबाट आवतजावत गर्न बाध्य भएका छन् । 

विगत २५ वर्षदेखि स्थानीय उक्त जीर्ण पुलबाट दैनिक जीवनयापन गर्दै आइरहेका छन् ।

तत्कालीन जिल्ला विकास समितिले २०४६ मागेस्थित शारदा नदीमा झोलुङ्गे पुल निर्माण गरेको थियो तर समय समयमा मर्मत नगरिँदा उक्त पुल दिन प्रतिदिन जीर्ण बन्दै गइरहेको छ । समयमै मर्मत नहुँदा पुलमा बिछ्याएका फल्याक कुहिएर खसेका छन् भने कुनै मक्किएका छन् । 

पुल जीर्ण हुँदा आवतजावत गर्न निकै समस्या हुने गरेको कालीमाटी गाउँपालिका – १ मागेका डिल्ली केसीले बताउनुभयो । पुल मर्मतका लागि सम्बन्धित निकायलाई पटक पटक आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको उहाँको भनाई छ । पुल जीर्ण हुँदा पुलबाट आवतजावत गर्दा लडेर धेरै घाइते भइसकेको उहाँको भनाई छ । 

हिउँदको समयमा दुई गाउँ र वर्षातको समयमा सुकिदह, लक्ष्मीपुर, रोक्चा, त्रिवेणीसम्म स्थानीयले सास्ती भोग्दै आइरहेको पूर्व प्रधानपञ्च वेद प्रसाद केसीले बताउनुभयो । पुल निर्माण भएदेखि तत्कालीन जिल्ला विकास समितिले दुई पटक मर्मत गरेको बताउँदै त्यसयता कुनै पनि निकायले पुल मर्मतमा चासो नदेखाएको उहाँको भनाई छ । 

स्थानीय सामुदायिक वनले काठ काट्न प्रतिबन्ध लगाएपछि खसेका र कुहिएका स्थानमा नयाँ फल्याक राख्न समस्या भएको स्थानीयको भनाई छ । 

पुरानो पुल मर्मतभन्दा पनि नयाँ पुलको लागि काम अघि बढी रहेको कालीमाटी गाउँपालिका– १ का वडाध्यक्ष रबिलाल बस्नेतले बताउनुभयो । मागेमा नै पुल निर्माण गर्न समस्या भएपछि मागेदेखि झन्डै एक किलोमिटर माथि टाट्केस्थित स्याकु जिउलामा पुल निर्माणको काम अघि बढिरहेको उहाँको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button