गीत संगीत प्रवर्द्धनमा रेडियो नेपालको भूमिका महत्त्वपूर्ण : सचिव अर्याल

काठमाडौं । रेडियो नेपाल प्रसार सेवा विकास समिति (रेडियो नेपाल) ले आफ्नो ७२ औँ वार्षिक उत्सवको अवसरमा आज राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगिताको आयोजना गरेको छ ।
रेडियो नेपाल परिसर सिंहदरबारमा आज आयोजित प्रतियोगिताको उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् रेडियो प्रसार सेवा विकास समितिका अध्यक्ष डा. बैकुण्ठ अर्यालले गीत संगीतको प्रवर्द्धनमा रेडियो नेपालले महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
सचिव अर्यालले गीत संगीतका क्षेत्रमा कलाकारलाई रेडियो नेपालले नै चिनाएको स्मरण गराउँदै यसको प्रवर्द्धन गर्न महत्त्वपूर्ण प्लेटफर्म उपलब्ध गराउँदै आएको समेत स्पष्ट पार्नुभयो ।
उहाँले रेडियो नेपालले २०२२ सालदेखि कुनै कुनै रुपमा गीत संगीत प्रतियोगिता गर्दै गीत संगीतलाई प्रवर्द्धन गर्न पहल गर्दै आएको बताउनुभयो ।
रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले रेडियो नेपालले आफ्नो प्रसारणलाई समावेशी बनाउँदै रेडियो नेपाल गीत संगीतको पर्यायवाची र उद्गम थलोका रुपमा रहेको बताउनुभयो ।

उहाँले गीत संगीत विनाको प्रसारण कल्पना पनि गर्न नसकिने भन्दै रेडियो नेपालले गीत संगीत प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो ।
कार्यकारी निर्देशक केसीले रेडियो नेपालले तीन वटा प्रसारण केन्द्रसहित ७ वटै प्रदेश प्रसारण, २६ वटा एफ.एम रिले स्टेसन र अनलाइन सेवामार्फत प्रसारण पहुँच पुर्याइरहेको बताउनुभयो ।
उहाँले रेडियो नेपालले हाल २१ भाषामा समाचार र २० भाषामा कार्यक्रम प्रसार गर्दै आएको समेत जानकारी दिनुभयो ।
रेडियो नेपालले वार्षिक उत्सवको अवशरमा हरेक बर्ष आधुनिक गीत प्रतियोगिताको आयोजना गर्दै आएको छ । यस वर्षको राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा ६ वटा प्रदेशका २६ जना कलाकारको सहभागिता रहेको छ ।
वि.सं. २००७ साल चैत्र २० गते विधिवत् रुपमा स्थापना भएको रेडियो नेपालले यही चैत २० गते ७२ औँ स्थापना दिवस मनाउँदैछ ।
मुलुककै अग्रणी सञ्चार माध्यमको रुपमा रहेको रेडियो नेपाल विकास समिति ऐन २०१३ अनुसार सरकारी सञ्चार माध्यमका रुपमा सञ्चालन हुँदै आएको छ ।






प्रतिक्रिया राख्नुहोस्