तपाईँ सुन्दै हुनुहुन्छः

पर्साको निकुञ्ज र राष्ट्रिय बन क्षेत्रमा लागेको डढेलो अनियन्त्रित

वीरगंज । पर्सा राष्ट्रिय निकुञ्ज तथा जिल्लास्थित राष्ट्रिय बन क्षेत्रमा विगत एक सातादेखि लागेको डढेलो अनियन्त्रित हुँदा अर्बौँको बन सम्पदा जलेर नष्ट भएको छ भने वन्य जन्तुहरू समेत डढेलोबाट प्रभावित भएका छन् । 

डढेलो लागेको एक हप्ता भइसक्दा पनि त्यसलाई निभाउन सम्बन्धित निकायले पहल नगरेको स्थानीयवासीले गुनासो गरेका छन् ।

सेक्टर बन कार्यालय वसन्तपुर, इलाका बन कार्यालय हरैया, भतौडा र रङ्गपुर, सेक्टर बन कार्यालय बढ्नियार तथा पर्सा राष्ट्रिय निकुञ्जको महादेव पोस्ट, चारभैया पोस्ट गडुवालाइन, निर्मल बस्ती पोस्ट, पन्चमुखी सामुदायिक बन र सुनाखरी उपभोक्ता समिति अन्तर्गत रहेको बन क्षेत्रमा विगत १  हप्ता देखि डढेलो लागेको छ ।

डढेलोका कारण करोडौँ मूल्य बराबरका काठ तथा बोटबिरुवाहरू जलेर नष्ट भएको स्थानीय बासिन्दाले बताएका छन् । 

आगलागीबाट निस्केको धुवाँले जङ्गल नजिकैका मानव बस्तीहरूमा समेत असर पारेको छ । डढेलोको धुवाँले जङ्गलको नजिकै रहेका बस्तीका स्थानीयहरूमा आँखा चिलाउने, आँखा रातो हुने, बिहानको समयमा धुवाँले अँध्यारो हुने जस्ता समस्या देखिएको छ ।

डिभिजन वन कार्यालय पर्साका प्रवक्ता सहायक बन अधिकृत रेयाज अहमद अन्सारीले डढेलो नियन्त्रणका लागि जनशक्ति परिचालन भए पनि निभाउन समस्या भइरहेको जानकारी दिनुभयो । 

पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले वन क्षेत्रमा लागेको डढेलोलाई नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र बन रक्षकको टोली समेत परिचालन भई रहेको र अहिले केही स्थान बाहेक धेरै क्षेत्रको डढेलो नियन्त्रणमा आई सकेको बताउनुभयो ।

जङ्गलमा लागेको आगो नियन्त्रण बन कर्मचारी र प्रहरीले मात्रै गर्न नसक्ने भएकोले स्थानीयवासीको पनि सहयोग आवश्यक रहेको बताउँदै प्रमुख जिल्ला अधिकारी ढकालले वन उपभोक्ता समिति र स्थानीय बासिन्दाको सहयोगमा बस्ती नजिकै वन क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button