तपाईँ सुन्दै हुनुहुन्छः

स्याङ्जामा म्यादी प्रहरीका लागी आवश्यक भन्दा दोब्बरको आवेदन 

स्याङ्जा । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि स्याङ्जामा २ हजार ४९६ जनाले आवेदन दिएका छन् । स्याङ्जामा आवश्यक १ हजार ३ सय २ जना म्यादी प्रहरीका लागी झण्डै दोब्बरले आवेदन दिएका हुन् । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेकाहरूले म्यादीका लागी उक्त सङ्ख्यामा आवेदन दिएका हुन् । 

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार अनुमानित २ सय बढी महिला र ७० भन्दा बढी भूपूहरूले आवेदन दिएका हुन् । भूपू भन्नाले पूर्व नेपाली सेना, प्रहरी, पूर्व वन रक्षकहरू पर्दछन् ।  चैत ६ देखि ११ गतेसम्म ६ दिन म्यादी प्रहरी हुन चाहनेका लागी आवेदनका  समय दिइएको थियो । आइतबार आवश्यक सम्पर्क गरेका आवेदकहरूको शारीरिक परीक्षा चैत्र १५, १६ र १७ गते हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

चैत्र १५ गते १ देखि ८३२ सम्म, १६ गते ८३३ देखि १६६४ सम्म, १६६५ देखि २४९६ सम्म दर्ता नम्बर भएकाहरूले पुतलीबजार १ को मालेबगरमा शारीरिक परीक्षा दिनेछन् । शारीरिक परीक्षा दैनिक ४ समूहमा विभाजन गरी गराइने जिल्ला प्रहरीले जनाएको छ । त्यस्तै यही १८ गते लिखित परीक्षा हुने प्रहरी कार्यालयले जनाएको छ । 

म्यादी प्रहरीले ४० दिन काममा खटिनुपर्ने हुन्छ । त्यो भन्दा अगाडि उनीहरूलाई तालिम दिइने छ । म्यादी प्रहरीको मासिक ३० हजार २४० रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ । पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरीले खाद्यान्न बापत ७ हजार २००, पोसाक र अन्य खर्च गर्ने गरी ६ हजार, यातायात खर्च बापत १ हजार र बिमा सुविधासमेत उपलब्ध गराइने व्यवस्था छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button