चिनियाँ विदेश मन्त्री वाङ स्वदेश प्रस्थान

काठमाडौँ । चीनका राज्य परिषद् सदस्य एवं विदेश मन्त्री वाङ यी नेपालको त्रि दिवसीय भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनुभएको छ ।
चिनियाँ विशिष्ट अतिथि वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी, शिष्टाचार महापाल डा दुर्गाबहादुर सुवेदी, परराष्ट्र मन्त्रालय र यहाँस्थित चिनियाँ दूतावासका उच्च अधिकारीले बिदाइ गर्नुभयो ।

परराष्ट्र मन्त्री डा नारायण खड्काको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएका विदेश मन्त्री वाङ १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रवार यहाँ आइपुग्नुभएको थियो ।

नेपाल भ्रमणका क्रममा चीनका विदेश मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बेग्लाबेग्लै भेट्नुभएको थियो ।

भ्रमणका क्रममा नेपाल र चीनका परराष्ट्र मन्त्री नेतृत्वको प्रतिनिधिमण्डलबीच शनिबार द्विपक्षीय वार्ता हुनुका साथै दुवै देशका सम्बद्ध अधिकारीले पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी नौ समझदारीमा हस्ताक्षर गर्नुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्