प्रथम खुल्ला म्याराथन दौडको उपाधि सोमै र श्रेष्ठलाई
पाल्पा । पाल्पाको रामपुरमा सम्पन्न प्रथम खुल्ला म्याराथन दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ राम बहादुर सोमै र महिलातर्फ अञ्जना श्रेष्ठले हात पारेका छन् ।

युवाहरूलाई खेलकुद विधामा आकर्षित गर्नुका साथै रामपुरको पहिचानसँगै पर्यटन प्रवर्द्धन गर्ने ध्येयका साथ रामपुर युवा क्लबले आयोजना गरेको दौडमा पुरुष तर्फका उपाधि विजेता सोमैले ३९ मिनेटमा निर्धारित दुरी पुरा गर्नुभएको थियो ।
त्यस्तै पुरुषतर्फ ३९ मिनेट २० सेकेन्डमा दुरी पार गर्दै विक्रम ढेंगा द्वितीय र ४० मिनेट १० सेकेन्डमा पार गर्दै दिपक पुन तृतीय हुनुभएको छ ।
महिला तर्फको उपाधि विजेता अञ्जना श्रेष्ठले ५९ मिनेट ४० सेकेन्ड दुरी पार गर्नुभएको थियो । महिलातर्फ १ घण्टा २० सेकेन्डमा दुरी पार गर्दै ममता थापा द्वितीय र १ घण्टा ५ मिनेटमा दुरी पार गर्दै तारा सिंजाली तृतीय हुनुभयो ।
दौडको लागि ११ किलोमिटर दुरी तय गरिएको थियो । बेझाँड बजार स्कुल रोडबाट सुरु भएको दौड रामपुरका मुख्य बजारहरू परिक्रमा गर्दै बेझाँड चोक आएर टुङ्गिएको थियो ।
प्रतियोगिताका दुवै तर्फका विजेता प्रथम, द्वितीय र तृतीयलाई क्रमशः नगद ७ हजार, ५ हजार र ३ हजारसहित मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्