तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पा ढाका कपडाको राजधानी घोषणा

पाल्पा । पाल्पालाई ढाकाको राजधानी घोषणा गरिएको छ ।

आज तानसेनमा आयोजना गरिएको एक कार्यक्रमबिच लुम्बिनी प्रदेश सरकारकी कानून मन्त्री रमा घर्ती र नेपाल सरकारका प्रतिनिधि नारायण प्रसाद दुवाडीले पाल्पालाई ढाकाको राजधानी घोषणा गर्नुभएको हो ।

तानद्वारा उत्पादित ढाका कपडा ब्रान्डिङ गरी पछिल्लो समय बजार पठाउन थालिएसँगै पाल्पाली ढाका सङ्घद्वारा ढाका राजधानीका रुपमा पाल्पालाई विकास गरिएको हो । कार्यक्रममा ढाका कपडाको गुणस्तर कायम गर्न मापदण्ड अनुसार उत्पादन गर्नुपर्ने सरोकारवाला निकायको धारणा छ ।

कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका कानून, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्तीले लुम्बिनी प्रदेशको पहिचानकै रूपमा ढाका कपडालाई विकास गरी स्वरोजगार तथा रोजगारका अवसर सिर्जना गर्न सकिने बताउनुभयो ।

नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नारायण प्रसाद दुवाडीले पाल्पालाई राजधानी घोषणा गरिएसँगै अवसर र चुनौती समेत थपिएको बताउनुभयो ।

तानसेन नगरपालिकाका नगरप्रमुख अशोक कुमार शाहीले सीप र युके एडसँगको सहकार्यमा तानसेन नगरपालिका मार्फत विभिन्न कार्यक्रम सञ्चालन गरी पाल्पालाई ढाकाको राजधानी घोषणा गर्न सकिएको बताउनुभयो ।

पाल्पाली ढाकाकी जननी पूर्णमाया महर्जनले पाल्पा विसं २०१५ देखि ढाका कपडाका रूपमा पहिचान बोकेको र महिला तथा विपन्न वर्गका नागरिकलाई रोजगारी समेत दिन सफल भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button