तपाईँ सुन्दै हुनुहुन्छः

म माओवादीको मात्र नभई देशकै अध्यक्ष हुँ  : अध्यक्ष दाहाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू माओवादीको मात्रै नभई देशकै अध्यक्ष भएको बताउनुभएको छ । 

आज भरतपुरमा भरतपुर महानगरपालिकाको नयाँ प्रशासनिक भवनको शिलान्यास गर्ने क्रममा बोल्नुहुँदै उहाँले माओवादीले इतिहासमा गर्दै आएको  काम र योगदानको  मूल्याङ्कन गर्न सुझाव दिनुभएको हो ।

उहाँले अहिले देशलाई संकट पर्दा आफूले समस्या समाधान गरेको बताउनुहुँदै आफू माओवादीको अध्यक्ष मात्र नभई देशकै अध्यक्ष भएको बताउनुभयो  । 

“म माओवादी केन्द्रको अध्यक्ष मात्रै जस्तो लाग्दैन आज भोलि, राष्ट्रको जिम्मेवारी मेरो टाउकोमा छ”, उहाँले भन्नुभयो, “देशमा कुनै अप्ठ्यारो पर्‍यो भने बचाउनै पर्ने नबचाई नहुने भारी बोकेर हिँडेजस्तो लाग्छ ।” प्रत्येक पटक देशमा संकट आउँदा आफूले टार्दै आएको उहाँले बताउनुभयो । 

स्वर्गीय गिरिजाप्रसाद कोइरालाले सहकार्य सहमति र एकताको मूल मन्त्र अनुसार भनेको कुरा काँग्रेसले बिर्सेको तर आफूले सोही बाटो अपनाउँदै आएको उहाँको  भनाई थियो ।  

स्व कोइरालाले जीवनको उत्तरार्द्धमा आफूले दिएको देशको जिम्मेवारी पुरा गर्दै आएको समेत उहाँले बताउनुभयो  । 

उहाँले आगामी निर्वाचनमा काँग्रेस सहकार्य नभए पनि आफूलाई कुनै आपत्ति नभएको समेत बताउनुभयो  । 

“अहिले आजभोलि केही साथीहरू भन्न थाल्नुभा छ मिलेर जाने होइन आ–आफ्नो ढङ्गले जानुपर्छ”, उहाँले भन्नुभयो “ठिकै छ आफ्नो आफ्नो ढङ्गले गए पनि जान दिनुपर्छ, हामीलाई आपत्ति छैन । आफ्नै ढङ्गले गएको भए देशमा शान्ति हुन्थ्यो ? आफ्नै ढङ्गले गएको भए संविधान बन्थ्यो ?” उहाँको प्रश्न थियो  । 

राष्ट्रिय राजनीतिमा धेरै बोल्न नचाहेको बताउनुहुँदै उहाँले अधिकांश समय भरतपुरको विकासको बारेमा चर्चा गर्नुभएको थियो  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button