बिस्केट जात्रा शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सरोकारवालाहरूको बैठक

भक्तपुर । नजिकिँदै गरेको भक्तपुरको प्रसिद्ध बिस्केट (बिस्का) जात्रा शान्तिपूर्ण रुपमा सम्पन्न गर्न भक्तपुर नगरपालिकाको आयोजनामा जात्रासँग सम्बन्धित सरोकारवालाहरूसँग बैठक सम्पन्न भएको छ ।
बैठकमा बोल्नुहुँदै नगरप्रमुख प्रजापतिले विगतका तुलनामा भक्तपुरको बिस्का जात्रा शान्तिपूर्ण रुपमा सम्पन्न हुँदै आएको भन्नुहुँदै जात्रासँग सम्बन्धित सरोकारवालाहरूले आ–आफ्नो जिम्मेवारी पूरा गर्न सके निर्धारित समयभित्र जात्रा शान्तिपूर्ण ढङ्गले सम्पन्न हुने बताउनुभयो ।
उहाँले आन्तरिक तथा बाह्य पर्यटकहरूको समेत उल्लेख्य उपस्थित हुने बिस्का जात्रा सञ्चालन मर्यादित बनाउने हेतुले भक्तपुर नगरपालिकाले सम्बन्धित सरोकारवाला निकायहरूसँग समन्वय र सहकार्य अगाडि बढाएको बताउनुभयो ।
बैठकबाट बिस्का जात्रा २०७८/०७९ मनाउने क्रममा नगरबासीहरुलाई आवश्यक सुरक्षा मापदण्ड अपनाई सुरक्षित रहन प्रचारप्रसार गर्ने, बिस्का जात्रासम्बन्धी सम्पूर्ण पूजा र जात्रा समयमै सुरु र सम्पन्न गर्न आवश्यक तयारीको लागि गुठी संस्थान कार्यालय भक्तपुरलाई जिम्मा दिने र जात्रासँग सम्बन्धित पूजा र आवश्यक तयारीको लागि भैल नाय, जात्रा व्यवस्थापन समिति र सम्बन्धित वडा कार्यालयहरूलाई आवश्यक जिम्मेवारी दिने लगायतका निर्णयहरू भएको छ ।
त्यस्तै, बिस्का जात्रा सञ्चालन हुने नगरका सम्पूर्ण क्षेत्रहरूमा तार, केबल र फाइबर नेटका केबुलहरू व्यवस्था गर्न र अन्य आवश्यक कार्यको लागि यथाशीघ्र स्थलगत अवलोकन गरी आवश्यक व्यवस्था गर्ने र यथाशीघ्र जात्रासँग सम्बन्धित सरोकारवालाहरूको बैठक बस्ने निर्णय भएको छ ।
भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले विगतका कमीकमजोरीबाट शिक्षा लिई शान्तिपूर्ण रुपमा जात्रा सम्पन्न गर्न गुठी संस्थानले ध्यान दिनुपर्ने र तोकिएको समय अघि सबैले आ–आफ्नो जिम्मेवारी अनुसारको काम सम्पन्न गर्नुपर्ने बताउनुभयो ।
बैठकमा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठ, वडाध्यक्ष कुमार चवाल र प्रेमगोपाल कर्माचार्य, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, जात्रासँग सम्बन्धित सरोकारवालाहरूले बिस्का भव्य, शान्तिपूर्ण र सभ्य तरिकाले सम्पन्न गर्न सुझाव दिनुभएको थियो ।
नयाँ वर्षको आगमनसँगै हरेक बर्ष आठ रात नौ दिन मनाइने जात्राका क्रममा यदाकदा ढुङ्गा हानाहान हुने भय उत्पन्न हुने गर्दछ ।






प्रतिक्रिया राख्नुहोस्