जलश्रोतको संरक्षण र संवर्द्धनका लागि जागरण फैलाउनु आवश्यक : राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले जलश्रोतको संरक्षण र संवर्द्धनका लागि जनजनमा जागरण फैलाउनुपर्ने बताउनुभएको छ ।
विश्व पानी दिवसका सन्दर्भमा आज राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित जलविज्ञहरु सँगको अन्तर्क्रिया कार्यक्रममा पानी जीवनका लागि अति आवश्यक रहेकाले यसको संरक्षणमा सरकारका साथै व्यक्ति व्यक्ति पनि सक्रिय हुनुपर्ने बताउनुभयो ।
राष्ट्रपति भण्डारीले बढ्दो सहरीकरणका क्रममा कतिपय नदी नालाहरूको अस्तित्व नै मेटिसकेको अवस्था रहेकाले भविष्यमा थप खतरा आउन नदिन बाँकी रहेका श्रोतहरूको संरक्षणका साथै नयाँ नयाँ ताल तलैया र पोखरीहरूको निर्माण गरेर जमिनमुनिको पानीको सतहमा पुर्नभण्डारण गर्नेतर्फ विशेष योजनाका साथ अघि बढ्न जरुरी रहेको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले सरकारले नयाँ नीति तथा कार्यक्रम र बजेटको तयारी अगाडि बढाएको उल्लेख गर्नुहुँदै पानीको संरक्षण सम्बन्धी कार्यक्रमलाई समावेश गर्न आफूले पहल गर्ने पनि बताउनुभयो ।
कार्यक्रममा जलश्रोत क्षेत्रका विज्ञहरूले विकासका नाममा पानीका श्रोतहरूमाथि भइरहेका अतिक्रमणहरू प्रति चिन्ता व्यक्त गर्दै यस विषयलाई राज्यले गम्भीर रुपमा लिएर सुधारका कामहरू गर्नुपर्ने बताउनुभयो ।

विज्ञहरूले प्रकृति र संवृद्धिका लागि ताल तथा पोखरीको संरक्षण आवश्यक रहेकाले गाउँ गाउँ टोल टोल र वडा वडा मा पोखरी तथा ताल तलैयाहरूको संरक्षणका साथै नयाँ ताल तलैया तथा पोखरी निर्माणमा अभियान नै सञ्चालन गरेर अघि बढ्नुपर्ने सुझाव पनि दिनुभयो ।
तस्बिर : सुनिल बज्राचार्य, राष्ट्रपति कार्यालय








प्रतिक्रिया राख्नुहोस्