ठोरी मधेश प्रदेशको पहिलो पर्यटकीय क्षेत्र घोषणा हुँदै

वीरगंज । पर्साको ऐतिहासिक तथा पर्यटकीय क्षेत्र ठोरीलाई शुक्रवार मधेश प्रदेश सरकारले प्रदेशकै पहिलो पर्यटकीय क्षेत्रको रुपमा घोषणा गर्न ठोरीमा शुक्रवार आयोजना हुने मधेश प्रदेश सरकारको मन्त्रीपरिषद्को बैठकको सम्पूर्ण तयारी पुरा भएको छ ।
ठोरी गाउँपालिकाको तर्फबाट जसपाका केन्द्रिय सदस्य टेक बहादुर शाक्यले आज वीरगंजमा पत्रकार सम्मेलनको आयोजना गरी मधेश प्रदेश सरकारले ठोरी बासीप्रति देखाएको उदार नीतिको स्वागत गर्नु भएको छ ।
नेपाल पत्रकार महासङ्घ पर्सा शाखामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता शाक्यले ठोरीबाट धेरै स्थानीय बासिन्दाहरू पत्रकार सम्मेलनमा सहभागी हुन इच्छा व्यक्त गरेको भए पनि समय अभावको कारण सीमित व्यक्तिहरू आएर भोलि हुने कार्यक्रमको प्रचार प्रसारका लागि पत्रकार सम्मेलन गरिएको जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा बोल्दै नेता शाक्यले मधेश प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठक चैत ११ गते ठोरीमा बसेर ठोरीलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने घोषणा समेत गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।
शाक्यले मन्त्रिपरिषद्को बैठक अघि ठोरीमा जन्मेका तर हाल देश विदेशका विभिन्न स्थानमा रहेका व्यक्तिहरूलाई समेत सम्मान गर्ने कार्यक्रम रहेको जनकारी दिनुभयो । ठोरी गाउँपालिका तथा स्थानीय बासिन्दाहरूको सहयोगमा आयोजना हुने सो कार्यक्रममा मधेश प्रदेशका सरकारका मुख्यमन्त्री, मन्त्री, मन्त्रालयका सचिवहरू लगायत उपस्थित अतिथिको भव्य स्वागत गरिने समेत जानकारी दिनुभयो ।
ठोरी गाउँपालिकामा सडक, विद्युत्, खानेपानी लगायतका पूर्वाधार पुग्न थालेपछि ठोरीबाट विस्थापित व्यक्तिहरू अहिले ठोरीमा फर्कने क्रम शुरु भएको छ भने जग्गाको मूल्य समेत आकासिँदै गएको छ । प्राकृतिक मनोरमपूर्ण स्थलको रुपमा रहेको ठोरीलाई मधेश प्रदेशकै पर्यटकीय क्षेत्र घोषणा गरेपछि ठोरीमा पर्यटन प्रवर्द्धनमा कोशेढुङ्गा साबित हुने दाबी गरिएको छ ।
मधेश प्रदेश सरकारले ८ जिल्ला मध्ये पहिलो पटक औपचारिक रुपमा पर्साको ठोरीलाई पर्यटकीय स्थलको रुपमा गुरु योजना सहित विकास गर्ने पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिकामा पर्ने दुधेश्वेरनाथ महादेव भाथाधामलाई चैत्र १२ गते धार्मिक पर्यटक क्षेत्र घोषणा गर्ने कार्यक्रम रहेको शाक्यले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्