तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरगढीलाई बालमैत्री घोषणा स्वीकृतिका लागि सिफारिस

मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले जिल्लाको मकवानपुरगढी गाउँपालिकालाई बालमैत्री स्थानीय तह घोषणाका लागि स्वीकृति प्रदान गर्न सिफारिस गरेको छ ।

जिससले मङ्गलवार गाउँपालिकाको अन्तिम अनुगमन एवम् छलफल र अन्तरक्रिया पश्चात् बुधवार प्रतिवेदनसहित प्रदेश सरकारलाई अनुमति प्रदान गर्न सिफारिस गरेको हो ।

गाउँपालिकाको बालमैत्री स्थानीय शासन घोषणा सम्बन्धमा बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ अनुसार गाउँपालिकाको स्थलगत अनुगमन साथै छलफल र अन्तरक्रिया समेत गरी प्रतिवेदनसहित बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई घोषणा स्वीकृतिका लागि सिफारिस गरिएको जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभयो ।

गाउँपालिकाले बालमैत्री स्थानीय तह घोषणाका लागि बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका बमोजिम ५१ ओटा सूचकहरू पुरा भएको पाइएको उहाँले बताउनुभयो ।

जिसस मकवानपुरकी उपप्रमुख भगवती पुडासैनीको नेतृत्वमा ६ सदस्यीय टोलीले चैत्र १ देखि ७ गते सम्म गाउँपालिकाको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिकाको ५१ ओटै सूचकहरूको अनुगमन गरेर प्रतिवेदन तयार गरेको थियो ।

जिससले बुधवार प्रतिवेदनसहित सिफारिस गरे अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सामाजिक मन्त्रालयलाई पत्राचार गरेपछि सामाजिक विकास मन्त्रालयले घोषणाका लागि स्वीकृति दिने छ ।

गाउँपालिकाले यही चैत्र १२ गते गाउँपालिकालाई बालमैत्री स्थानीय तह घोषणाको तयारी गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button