अभियानमा लाग्न नेता निधिद्वारा कार्यकर्ताहरूलाई आग्रह
जनकपुरधाम । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धनुषामा नेपाली काँग्रेसको बलियो उपस्थितिका लागि एक ढिक्का भएर अघि बढ्न कार्यकर्ताहरूलाई आग्रह गर्नुभएको छ ।
नेता निधिले नेपाली काँग्रेसको १४ औँ जिल्ला अधिवेशनबाट नव निर्वाचित धनुषाका पदाधिकारी एवं सदस्यहरूलाई आज जनकपुरधाममा प्रमाणपत्र वितरण गर्नुहुँदै निर्वाचनमा भएको आन्तरिक प्रतिस्पर्धालाई सामान्य रुपमा लिन आग्रह गर्नुभयो ।

उहाँले चुनावको समयमा पार्टीभित्र भएको प्रतिस्पर्धा बिर्सेर स्थानीय चुनावमा काँग्रेस उम्मेदवारलाई विजयी गराउनका लागि जनताको मन जित्ने कार्यमा लाग्न आग्रह गर्नुभयो ।
नेपाली काँग्रेसका पूर्व उपसभापति निधिले करिब दुई तिहाइको कम्युनिस्ट सरकार पूर्ण अवधि नचलेका कारण नेपाली काँग्रेसको पक्षमा आम जनताको विश्वास बढेको बताउँदै सबै तहका समितिले कडा परिश्रम गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादव, मधेस प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव तथा नवनिर्वाचित नेपाली काँग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियारले नेपाली काँग्रेसका कार्यकर्ताहरूलाई एक ढिक्का भएर पार्टीलाई जिताउन घर घरमा पुग्न आग्रह गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्