पर्साको जनसङ्ख्या ६ लाख ४७ हजार ३ सय १९ पुग्यो
बीरगंज । राष्ट्रिय जनगणना २०७८ का प्रारम्भिक नतिजा अनुसार पर्सामा पुरुष ३ लाख ३३ हजार २७४ तथा महिला ३ लाख १४ हजार ३१९ गरी कुल ६ लाख ४७ हजार ३ सय १९ जना जनसङ्ख्या रहेको जिल्ला जनगणना कार्यालय बीरगंजले जनाएको छ ।
२०६८ को तुलनामा १० वर्षमा पर्सामा कुल जनसङ्ख्याको ७.७ प्रतिशतले वृद्धि भई ४६ हजार ३ सय २ जना थपिएको कार्यालय प्रमुख केशव ज्ञवालीले जानकारी दिनुभयो ।
पर्सामा रहेका १४ वटा स्थानीय तह मध्ये सबभन्दा कम ठोरी गाउँपालिकामा १७ हजार ४ सय ९४ जनसङ्ख्या रहेको तथा सबभन्दा बढी बीरगंज महानगरपालिकामा २ लाख ६८ हजार २ सय ७३ जनाको जनसङ्ख्या रहेको छ ।
प्रारम्भिक नतिजा अनुसार पर्साका स्थानीय तह मध्ये बीरगंज महानगरमा घरधुरी ३६ हजार ६ सय ९७ रहेको छ ।
नगर क्षेत्रमा परिवार सङ्ख्या ४७ हजार २ सय १८ रहेकोमा पुरुष १ लाख ३९ हजार ८ सय ४९ जना तथा महिला १ लाख २८ हजार ४ सय २४ जना गरी २ लाख ६८ हजार २ सय ७३ जनसङ्ख्या रहेको ज्ञवालीले बताउनुभयो ।
यसैगरी, बहुदरमाई नगरपालिकामा ४३ हजार ७० जनसङ्ख्या रहेको छ भने पोखरिया नगरपालिकामा ३८ हजार ९ सय ८५ जनसङ्ख्या रहेको छ ।
यता पर्सागढी नगरपालिकामा ४१ हजार ४ सय ७७ जनसङ्ख्या गरेको छ । त्यसैगरी पटेर्वासुगौली गाउँपालिकामा २५ हजार ५० जनसङ्ख्या रहेको छ भने सखुवाप्रसौनी गाउँपालिकामा ३५ हजार ७ सय १२ जनसङ्ख्या रहेको छ ।
पकहामैनपुर गाउँपालिकामा २२ हजार ९ सय ५७ जनसङ्ख्या रहेको छ भने कालिकामाईमा २३ हजार ७ सय ४० , जिराभवानीमा २२ हजार ६ सय २, बिन्दाबासिनीमा गाउँपालिकामा २४ हजार ४ सय ६६, छिपहरमाइमा २६ हजार ७ सय ४२, धोविनीमा २२ हजार ८ सय ४६, जगरनाथपुरमा ३२ हजार ७ सय ३७ जनसङ्ख्या रहेको जिल्ला जनगणना कार्यालय पर्साका प्रमुख ज्ञवालीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्