तपाईँ सुन्दै हुनुहुन्छः

सरकारले कर्मचारीको अहित हुने गरी ऐन ल्याउँदैन: मन्त्री बडू

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले वर्तमान सरकारले कर्मचारीको अहित हुने गरी सङ्घीय निजामती सेवा ऐन नल्याउने बताउनुभएको छ ।

नेपाल निजामती कर्मचारी सङ्गठन केन्द्रीय कमिटीका पदाधिकारी तथा प्रतिनिधिहरूसँग कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बुधवार भएको छलफलमा मन्त्री बडूले कर्मचारीको हितमा ऐन बनाउनुपर्छ भन्नेमा सरकार प्रस्ट रहेकोले सोहीअनुसार आवश्यक छलफल गरिने बताउनुभयो ।

उहाँले अघिल्लो सरकारले बनाएको ऐनको मस्यौदामा कर्मचारीको हित विपरीत रहेका प्रावधान हटाउन राज्य व्यवस्था समितिमा आफूले धेरै छलफल गरेको र आफ्नो तर्फबाट लिखित रूपमै ‘नोट अफ डिसेन्ट’ समेत राखिएको भन्नुहुँदै अहिलेको सरकार कर्मचारीप्रति असहिष्णु नरहेको धारणा राख्नुभयो ।

सङ्घीय निजामती ऐन कर्मचारीकै लागि ल्याइने भएकोले कर्मचारीको सल्लाह र न्यूनतम सहमतिमै ऐन ल्याइने विश्वास दिलाउनुहुँदै मन्त्री बडूले निजामती सेवाको छाताभित्र रहेका कर्मचारीलाई कुनै पनि आधारमा विभेद नगरिने प्रस्ट्याउनुभयो ।

सङ्गठनका अध्यक्ष लेखनाथ कोइरालाले अघिल्लो सरकारले कर्मचारीलाई हतोत्साहित हुने गरी बनाएको ऐनको मस्यौदालाई सुधारेर ऐन आउनेमा आफूहरू विश्वस्त रहेको बताउनुभयो ।

उहाँले स्वचालित, चक्रीय र अनुमानयोग्य बढुवा, सङ्घ, प्रदेश र स्थानीय तहका नाममा कर्मचारीबिच गरिएको विभेद लगायतका विषयमा लिखत मागहरू पेश गर्नुहुँदै कर्मचारीको हकहितका कुरा समेटेर ऐन ल्याउने वातावरण निर्माणका लागि मन्त्री बडूलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button