निर्वाचन सामान्य, नियमित र सहज हुँदैन: अध्यक्ष ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन सामान्य, नियमित र सहज नहुने बताउनुभएको छ ।

काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा जारी केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचन राजनीतिक स्थायित्वका पक्षधर र अस्थिरताका संवाहकहरू बिचको लडाइका रुपमा हेर्नुपर्ने बताउनुभयो ।
उहाँले संवैधानिक कर्तव्य र स्वेच्छाले नभई जनदबाबका कारण चुनावको मिति घोषणा गर्न बाध्य भएको दाबी गर्दै निर्वाचन तोकिएकै मितिमा, शान्तिपूर्ण, धाँधलीरहित र निष्पक्ष ढङ्गले सम्पन्न गर्ने कुरा सुनिश्चित गर्न चनाखो हुनुपर्ने धारणा राख्नुभयो ।
भोलिसम्म चल्ने जारी केन्द्रीय कमिटी बैठकको मुख्य एजेन्डा वैशाख ३० को स्थानीय तहको निर्वाचनमा केन्द्रित रहेको छ ।

बैठकमा अध्यक्ष ओलीले राजनीतिक तथा समसामयिक प्रतिवेदन पेश गर्नुभएको थियो भने सात वटै प्रदेशका अध्यक्षहरूले रिपोर्टिङ गर्नुभएको छ । बैठकमा महासचिव शङ्कर पोखरेलको चुनावी घोषणापत्र, उम्मेदवार चयनका मापदण्डलगायतका विषय मुख्य एजेन्डाका रुपमा रहेका छन् ।
यस्तै बैठकमा पार्टीका विभागलाई पूर्णता दिने, निर्वाचनमा पार्टी नेतृत्वको भूमिका, सचिवालय र पोलिटब्यूरो कमिटी बैठकको निर्णय अनुमोदन लगायत प्रस्तावमाथि पनि छलफल हुने बताइएको छ ।







प्रतिक्रिया राख्नुहोस्