आन्तरिक राजश्व कार्यालय, भरतपुरबाट लक्ष्य भन्दा १२ प्रतिशत बढी राजश्व असुली
चितवन । चालु आर्थिक बर्ष ०७८,०७९ को अघिल्ला महिनाहरूमा लक्ष्यभन्दा कम असुली गर्दै आएको आन्तरिक राजश्व कार्यालय, भरतपुरले फागुन महिनामा लक्ष्य भन्दा १२ प्रतिशतले बढी राजश्व असुली गरेको छ ।

राजश्व विभागले दिएको लक्ष्यभन्दा कार्यालयले सो महिनामा लक्ष्य भन्दा ११ दशमलव ७७ प्रतिशत बढी राजश्व सङ्कलन गरेको हो । जस अनुसार विभागले कार्यालयलाई १ अर्ब ६२ करोड २४ लाख २८ हजार लक्ष्य दिएकोमा १ अर्ब ८१ करोड ३३ लाख २२ हजार रुपैयाँ सङ्कलन गरेको छ ।
सबैभन्दा बढी कर असुली अन्तःशुल्कबाट
चालु आबको फागुन महिनामा सबै शीर्षकमध्ये सबैभन्दा बढी राजश्व असुली अन्तःशुल्क शीर्षकबाट भएको छ ।
कार्यालयले सो महिनामा अन्त शुल्कबाट १ अर्ब ५२ करोड २८ हजार रुपैयाँ सङ्कलन गरेको छ । उक्त महिनामा कार्यालयलाई १ अर्ब ३६ करोड ४४ लाख ९० हजार रुपैयाँको लक्ष्य दिइएको थियो ।
यस्तै दोस्रो बढी कर सङ्कलन आयकरबाट १६ करोड ४५ लाख ५३ हजार रुपैयाँ असुली भएको छ । यो शीर्षकमा विभागले कार्यालयलाई ६ करोड ७६ लाख चार हजार रुपैयाँ लक्ष्य दिएको थियो ।
स्वास्थ्य सेवा शीर्षकमा ४ लाख ९ हजार लक्ष्य दिएकोमा २३ लाख ८७ हजार रुपैयाँ सङ्कलन गरेको छ ।
अन्य शीर्षकमा भने लक्ष्य भन्दा कम कर असुली भएको छ । जसअनुसार बहालकर शीर्षकमा २७ लाख २० हजार रुपैयाँ असुली भएको छ । यो शीर्षकमा विभागले सो महिनाका लागि ४२ लाख ७३ हजार रुपैयाँ लक्ष्य दिएको थियो ।
यस्तै व्याजकर शीर्षकमा फागुन महिनामा ८८ लाख ४९ हजार लक्ष्य दिइएकोमा ४३ लाख ७५ हजार रुपैयाँ असुली र शिक्षा सेवा कर शीर्षकमा ४ लाख ४८ हजार लक्ष्य दिइएकोमा ६३ हजार रुपैयाँ असुली भएको छ ।
कार्यालयका कर अधिकृत सुशील लम्सालले विगतमा भन्दा फागुन महिनामा कर असुली सन्तोषजनक रहेको बताउनुभयो ।
विभागले कार्यालयलाई चालु आर्थिक बर्ष फागुन महिनासम्म १२ अर्ब ७९ करोड ३० लाख १५ हजार लक्ष्य दिएकोमा १० अर्ब १ करोड ९१ लाख ७ हजार रुपैयाँ सङ्कलन भएको छ । यो चालु आर्थिक वर्षमा विभागले कुल २१ अर्ब ७२ करोड २१ लाख ७९ हजार रुपैयाँको लक्ष्य दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्