सल्यानबासी अझै खोलाको पानी पिउन बाध्य

सल्यान । सल्यानको कालीमाटी गाउँपालिका–७ र्याङका स्थानीय बषौँदेखि खोलाको पानी पिउँदै आइरहेका छन् ।
खानेपानीको अन्य स्रोत नभएपछि र्याङका ७५ घरधुरी वर्षौँदेखि खोलाको पानी खान बाध्य भएका हुन । गाउँपालिकादेखि टाढा रहेको बस्तीमा हालसम्म शुद्ध पानीको अन्य व्यवस्था नहुँदा स्थानीय खोलाको पानी उपभोग गर्न बाध्य भएका हुन ।
लामो समयसम्म पनि खानेपानीको अभाव हुँदा स्थानीय तथा केन्द्र सरकार बेखबर रहेको स्थानीयको गुनासो छ । स्थानीय तथा केन्द्र सरकारले अहिलेसम्म पनि खानेपानीको समस्या समाधानमा चासो नदिँदा आफूहरू मारमा परेको स्थानीय तिली पुनले बताउनुभयो ।
वर्षामा धमिलो पानी खाने गरेको र आज भोलि खोलाको पानी पनि सुक्दै गएकाले थप समस्या भएको उहाँको भनाई छ । शुद्ध खानेपानीको अभाव हुँदा अहिले खोलाको पानी खाँदा बिरामी पर्न थालेका उहाँले बताउनुभयो ।
खाना बनाउने, खाने तथा सरसफाइ गर्ने र पशु चौपायालाई पनि त्यही पानी खुवाउने गरिएको अर्का स्थानीय पवित्रा पुनले बताउनुभयो । खोलाको फोहोर पानी खादै आएका कारण धेरै स्थानीयलाई स्वास्थ्यमा समस्या आउने गरेको उहाँले बताउनुभयो ।
आज भोलि त खोलामा सफा पानी आउँछ, तर वर्षामा धमिलो पानी पनि खान बाध्य हुन्छौँ, हामी बिरामी हुन्छौँ । गर्मीयाम लागेसँगै खोलाको पानी पनि सुक्दै गएकाले अब यही खोलाको पानी पनि नपुग्ने समस्या भएको उहाँले बताउनुभयो ।
सो क्षेत्रमा खानेपानीको अभाव रहेको जानकारी भएको र त्यसको व्यवस्थापनमा निरन्तर लागि परेको कालीमाटी गाउँपालिका–७ का वडा अध्यक्ष नैनसिहं रानाले बताउनुभयो ।
उहाँले वडामा थोरै बजेट आउने भएकाले सानो बजेटबाट काम गर्न नसकेको बताउनुभयो । खानेपानीको लागि पूर्वाधार विकास कार्यालय र विभिन्न सङ्घ संस्थासँग अनुरोध गरिएको वडा अध्यक्ष रानाले बताउनुभयो ।
जिल्लामा ६० प्रतिशत उपभोक्ताले खानेपानी पाएको खानेपानी सिँचाई तथा ऊर्जा विकास कार्यालय सल्यानको तथ्याङ्क छ । जसमध्य ४० प्रतिशत नागरिक खानेपानीको पहुँच बाहिर रहेको कार्यालयले जनाएको छ ।
सल्यानका अधिकांश क्षेत्र सुख्खा हुनुका साथै पानीका मुहानहरू पनि पर्याप्त नहुँदा समस्या हुने गरेको कार्यालय प्रमुख पदमराज देवकोटाले बताउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्