तपाईँ सुन्दै हुनुहुन्छः

‘दुवाकोटमा वीर अस्पताल विस्तारको परियोजना पुरा नभएसम्मका लागि ल्याब र एक्सरे सेवा’

भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले भक्तपुरको दुवाकोटमा वीर अस्पताल विस्तारको परियोजना पुरा नभएसम्मका लागि ल्याब र एक्सरे सेवा सुरु गर्ने बताउनुभएको छ ।

आज वीर अस्पताल विस्तारको परियोजनाको अनुगमन गर्दै स्वास्थ्य मन्त्री खतिवडाले नमुना वीर अस्पताल नबनेसम्म वैशाख १ गतेबाट स्थानीयको माग बमोजिम दुवाकोटमा ल्याब र एक्सरे सेवा सुरु गर्ने बताउनुभयो ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालका लागि प्रस्तावित जग्गा निरीक्षण गर्दै स्वास्थ्य मन्त्री खतिवडा.ले परियोजना सम्पन्न गर्नका लागि चीन सरकारसँग छलफल भइरहेको बताउनुभयो ।

वीर अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा. भुपेन्द्र बस्नेतले स्थानीयको माग र सरकारको निर्देशन बमोजिम आफूहरू सेवा दिन तत्पर रहेको बताउनुभयो ।

अनुगमनका लागि मन्त्री खतिवडा., स्वास्थ्य मन्त्रालयका सचिव द्वय डा. रोशन पोखरेल र देवकुमारी गुरागाईँ, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति देवनारायण साह, मन्त्रालयका विज्ञ सल्लाहकार डा. रमेश ढकाल, नीति योजना महाशाखा प्रमुख डा. कृष्ण पौडेल, प्रवक्ता डा. सङ्गीता मिश्रा लगायत स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीको टोली दुवाकोट पुगेको हो ।

टोलीलाई जिल्ला समन्वय प्रमुख नवराज गेलाल,चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्र, प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्मा लगायतले स्वागत गर्नुभएको थियो ।

सो अवसरमा स्थानीयले अस्पताल छिटो बन्नुपर्नेमा जोड दिएका छन् ।

दुवाकोटमा हाल दैनिक रुपमा सामान्य स्वास्थ्य सेवा सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button