तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेश सरकारले सञ्चार मैत्री कानून ल्याउँछ : मन्त्री जोशी  

डडेल्धुरा । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णाकुमारी जोशीले छिट्टै सञ्चार मैत्री कानुन ल्याउने तयारीमा रहेको बताउनु भएको छ ।  

डडेल्धुरामा आज सुदूरपश्चिम प्रदेश स्तरीय महिला पत्रकारहरूको दुई दिने भेलाको उद्घाटन गर्नुहुँदै मन्त्री जोशीले सञ्चार मैत्री कानुन निर्माण गरी पत्रकारहरूलाई थप सहजता बनाउन लागी परेको बताउनु भएको छ ।  

नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश कमिटीको आयोजना र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा आयोजित भेलामा मन्त्री जोशीले अन्य प्रदेशमा सञ्चार सम्बन्धी कस्तो कानुन आयो भन्ने प्रश्न होइन सुदूरपश्चिम प्रदेश सरकारले सञ्चारमैत्री कानुन ल्याएर पत्रकारितालाई थप व्यवस्थित र मर्यादित बनाउनेमा जोड दिनुभयो ।  

लोकतन्त्रको एउटा अब्बल संस्थाका रुपमा रहेको पत्रकारितालाई थप जिम्मेवार बनाउन आफ्नो भूमिका सदैव सकारात्मक रहने समेत मन्त्री जोशीले प्रतिबद्धता जनाउनुभयो । महासङ्घका प्रदेश अध्यक्ष योगेश रावलको सभापतित्वमा सम्पन्न भएको उद्घाटन सत्रमा पत्रकार महासङ्घका केन्द्रीय महासचिव रोशन पुरीले सरकारले ल्याउने सञ्चार नीति र ऐन पत्रकारिता क्षेत्रका विरुद्धमा रहेकाले देशभर महासङ्घ आन्दोलित हुनुपर्ने अवस्था सिर्जना भइरहेकोमा जोड दिनुभयो ।  

महिला पत्रकारहरूको दक्षता र क्षमता अभिवृद्धि सम्बन्धीका तालिमका कार्यक्रम ल्याउन महासङ्घ प्रतिबद्ध रहेको बताउँदै महासचिव पुरीले पत्रकारितालाई मर्यादित र व्यवस्थित बनाउन महासङ्घ सङ्गठन सुदृढीकरणलाई जोड दिइरहेको बताउनुभयो । 

कार्यक्रममा पत्रकार महासङ्घका सुदूरपश्चिम प्रदेशका पूर्व अध्यक्ष अर्जुन शाह, प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, प्रेस चौतारीका केन्द्रीय सदस्य मानबहादुर साउद, करण ताम्राकार, प्रेस युनियनका केन्द्रीय सदस्य मेनुका ढुङ्गाना, प्रेस चौतारी डडेल्धुराका अध्यक्ष लोकेन्द्र ओझा र प्रेस युनियन डडेल्धुराका अध्यक्ष धनबहादुर भण्डारी र अमरगढी नगरपालिकाका नगर प्रमुख विश्वेश्वर प्रसाद ओझा लगायतले भेलाको शुभकामना व्यक्त गर्नु भएको थियो ।  

भेलामा सुदूरपश्चिमका ९ वटै जिल्लाका महिला क्रियाशील पत्रकारहरूको सहभागिता रहेको छ भने भेला भोलि समापन हुने महासङ्घले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button