बागलुङका चार स्थानमा प्रहरी चौकी स्थापना

गलकोट। शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउन जिल्लाको सबै पालिकामा प्रहरी चौकी स्थापना गर्ने गृह मन्त्रालयको निर्णयअनुसार केही पालिकामा प्रहरी चौकी स्थापना हुँदै गएका छन् ।
बागलुङमा नयाँ चारवटा प्रहरी चौकी स्थापना गर्ने निर्णयअनुसार हालसम्म जिल्लाको बरेङ गाउँपालिका, निसीखोला गाउँपालिका, ताराखोला गाउँपालिका र बागलुङ नगरपालिकामा स्थापना गर्ने निर्णय भएको थियो । सोहीअनुसार बरेङ गाउँपालिकाको सुडला, ताराखोला गाउँपालिकाको भातखाने डाँडा, निसीखोलाको जुग्गाखोला र बागलुङ नगरपालिकाको पञ्चकोटमा नयाँ प्रहरी चौकी स्थापना गरिएको छ ।
निसीखोलाको जुग्गाखोलासहित सबै स्थानमा प्रहरी चौकी स्थापना भइसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दयानिधि ज्ञवालीले जानकारी दिनुभयो । “जिल्लाको चार स्थानमा प्रहरी चौकी स्थापना गर्ने निर्णयअनुसार अहिलेसम्म चारवटै स्थानमा प्रहरी चौकी स्थापना भएका छन् । भातखाने डाँडा ताराखोला, प्रहरी चौकी सुँडाला बरेङ गाउँपालिका, प्रहरी चौकी पञ्चकोट र जुग्जाखोलामा चौकी स्थापना भएका हुन्”, एसपी ज्ञवालीले भन्नुभयो, “जनतालाई शान्ति सुरक्षाको पहुँच बढाउन चार स्थानमा चौकी स्थापना गरिएको हो, जसकारण बागलुङको शान्ति सुरक्षामा ठूलो सहयोग गर्नेछ ।”
पन्ध्र–पन्ध्र जनाको दरबन्दी रहने प्रहरी चौकीमा तत्कालका लागि हबल्दारको नेतृत्वमा पाँच जना राखेर सेवा सुरु गरिएको उहाँको भनाइ छ । जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालयबाट जनशक्ति व्यवस्थापन गरेर चौकी स्थापना गरिएको ज्ञवालीको भनाइ छ । जिल्लावासीको शान्ति सुरक्षाका लागि चौकी थपिएको भन्दै यसले आम नागरिकलाई ठूलो सहयोग पुग्ने प्रहरी उपरीक्षक ज्ञवाली बताउनुहुन्छ ।
बागलुङ जिल्लामा हाल तीन वटा ‘क’ र चारवटा ‘ख’ श्रेणीका गरी सात इलाका प्रहरी कार्यालय छन् । जसमध्ये ‘क’ श्रेणीमा इलाका प्रहरी कार्यालय बुर्तिबाङ, इलाका प्रहरी कार्यालय गलकोट र इलाका प्रहरी कार्यालय बरेङ डाँडा रहेका छन् भने ‘ख’ श्रेणीका इलाका प्रहरी कार्यालय बलेवा, भीमगिठे, झिवाखोला र ताराखोला रहेका छन् ।
जिल्लामा प्रहरी चौकी नयाँसहित १७ वटा प्रहरी चौकी, दुई प्रहरी पोष्ट रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय भण्डारीले जानकारी दिनुभयो । दुई वटा प्रहरी पोष्टमध्ये बागलुङ कालिका मन्दिर परिसरमा एउटा र कुँडुलेमा एउटा रहेको छ । जिल्लामा चारवटा सामुदायिक प्रहरी सेवा केन्द्र रहेको भण्डारीले जानकारी दिनुभयो । जसमध्ये दुई वटा जिल्ला सदरमुकाम बागलुङमै छन् भने दुई वटा गलकोट र बुर्तिबाङ रहेका छन् ।
जिल्लाका विभिन्न स्थानमा स्थापना भएका प्रहरी चौकीले नागरिकको सुरक्षाका लागि महत्त्वपूर्ण भूमिका खेल्ने प्रहरी प्रमुख दयानिधि ज्ञवालीले बताउनुभयो । उहाँले जिल्लाका अति आवश्यक ठाउँमा नयाँ प्रहरी चौकी स्थापना भएको भन्दै अब समाजमा हुने अपराधजन्य घटना न्यूनीकरणका लागि सहज हुने बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्