त्रिभुवन विश्वविद्यालय र बाल उद्धार माविबीच चिनियाँ भाषा पठनपाठन गराउने सम्बन्धी सम्झौता

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय कन्फ्युसीयस इन्स्टिच्युट र बाल उद्धार माध्यमिक विद्यालय बीच चिनियाँ भाषा पठनपाठन गराउने सम्बन्धी सम्झौता भएको छ ।
त्रिभुवन विश्वविद्यालय कन्फ्युसीयस इन्स्टिच्युट र बाल उद्धार माध्यमिक विद्यालय बीच आगामी शैक्षिक सत्रदेखि पाठ्यक्रममा समावेश गराई चिनियाँ भाषा पठनपाठन गराउने सम्बन्धी सोमबार एक कार्यक्रमबीच बुढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धव खरेलको उपस्थितमा सम्झौता भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख उद्धव प्रसाद खरेलले विद्यालयमा औपचारिक रूपमा गराइने चिनियाँ भाषाको पठनपाठनले चिनियाँ भाषा, संस्कृति र सभ्यताको साथै चिनियाँ विकासबारे जान्न र उच्च शिक्षाको लागि छात्रवृत्तिमा पढ्न पाउने अवसर हुने बताउनुभयो ।
उहाँले अङ्ग्रेजी, चिनियाँ र हिन्दी भाषाको ज्ञानले पढाइको अतिरिक्त व्यवसाय, पर्यटन क्षेत्रमा अवसरको ढोका खोल्ने बताउनुहुँदै आफ्नो नगरपालिकामा यस किसिमको कार्यक्रम आएकोमा खुसी समेत व्यक्त गर्नुभयो ।
ईस्ट चाइना विश्वविद्यालय अन्तर्राष्ट्रिय साझेदारी प्रमुख तथा त्रिभुवन विश्वविद्यालय कन्फ्युसीयस इन्स्टिच्युटका डाईरेक्टर प्रा.डा. लिउ युमिङ्गले चिनियाँ भाषाको पठनपाठनले चिनियाँ भाषा, संस्कृति र नेपाली भाषा र संस्कृतिबारे आदान–प्रदान भई नागरिक–नागरिक बीचको सम्बन्ध बढाउने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल र चीन बीचको मित्रवत सम्बन्धको कारण त्रिभुवन विश्वविद्यालयमा कन्फ्युसीयस इन्स्टिच्युट स्थापना भएको बताउनुहुँदै उहाँले चिनियाँ भाषा र आफ्नो अध्ययन राम्रो गर्ने मेहनती विद्यार्थीहरूले चीनमा गई छात्रवृत्तिमा उच्च शिक्षा प्राप्त गर्ने अवसर समेत पाउने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुवप्रसाद घिमिरेले चिनियाँ भाषा सिकाइले विद्यार्थीहरूमा अवसरका नयाँ ढोका खुल्ने बताउँदै त्रिभुवन विश्वविद्यालय कन्फ्युसीयस इन्स्टिच्युटको सहकार्यमा आगामी शैक्षिक सत्रदेखि कक्षा ९ बाट चिनियाँ भाषा पठनपाठन गरिने जानकारी गराउनुभयो ।
विद्यालयका प्रधानाध्यापक विनोद पण्डितले कक्षा ९ बाट बढीमा २० जनाको दरले पठनपाठन गराइने चिनियाँ भाषा प्रत्येक वर्ष थपिँदै कक्षा १२ सम्म हुने, पढाई र चिनियाँ भाषामा राम्रो गर्ने विद्यार्थीहरूले विद्यालयको सिफारिसमा स्नातक, स्नातकोत्तर र पिएचडी सम्मको अध्ययन छात्रवृत्तिमा पढ्न पाउने अवसर प्राप्त हुने बताउनुभयो ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालय कन्फ्युसीयस इन्स्टिच्युटका प्रा.डा. बाल मुकुन्द रेग्मी, नगर उप–प्रमुख रमादेवी राई, नगर प्रवक्ता तथा वडाध्यक्ष नवराज भट्टराई, वडा सदस्य भुवप्रसाद रेग्मी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, शिक्षक–अभिभावक सङ्घका पदाधिकारीहरू, फरक–फरक ५ चिनियाँ सञ्चार माध्यमका प्रतिनिधिहरू, नेपाली सञ्चार माध्यमका प्रतिनिधि, विद्यालयका बाल बालिकालाई युनिफर्म तथा खाजा सहयोग गर्ने चिनियाँ प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्