जग्गा बेच्न नदिएको निहुँमा साथीसँग मिलेर आमाको हत्या

कास्की । कास्कीमा जग्गा बेच्न नदिएको निहुँमा आफ्नै आमाको हत्याको आरोपमा छोरा ओमबहादुर नेपाली पक्राउ परेका छन् ।
पोखरा महानगरपालिका–१२, शीतलादेवीकी ६७ वर्षकी नौमाया नेपाली चैत ४ गते बिहान आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी थिइन् । प्रहरीका अनुसार जग्गा बेच्न नदिएको निहुँमा ओमले आमाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
हत्या आरोपमा पक्राउ परेका नौमायाका जेठा छोरा ओमबहादुरलाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ । ओमबहादुरले साथी कुमार गुरुङको सहयोगमा ३ चैतमा आमाको हत्या गरेका प्रहरीले बताएको छ ।
उनको हत्या आरोपमा छोरा ३६ वर्षका ओमबहादुर नेपाली र ओमका साथी ३७ वर्षका कुमार गुरुङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ओमबहादुरले पोखरा महानगरपालिका–१२ स्थित घर र जग्गा बेच्न खोजेका थिए । तर आमा नौमायाले बेच्न नमान्दा हत्या गरिएको प्रहरीले जनाएको छ । माटेपानी बस्ने साथी कुमार गुरुङलाई जग्गा विक्री भए पछि एक लाख दिने सर्तमा हत्यामा सहयोग मागेको खुलेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुन्दर तिवारीले बताउनुभयो ।
३ चैतमा फागु पूर्णिमाको दिन मदिरा सेवन गरेका ओम र उनका साथी राति घर आएर नौमायाको हत्या गरेको प्रहरीको भनाइ छ । घटनापछि दुवै जना कुमारकै घरमा गएर बसेको खुलेको प्रहरीले जनाएको छ ।
‘टोल छिमेकमा हेर्दा पनि कसैले पनि हत्या उनकै छोरा ओमले गरेको भन्ने शङ्कै थिएन । राम्रोसँग केयर गर्दै आइरहेको भन्ने बुझिएको थियो,’ डिएसपी तिवारीले भन्नुभयो, ‘अहिले अनुसन्धानका क्रममा दुवै आरोपीले घटना आफूहरूले घटाएको स्विकारी सकेका छन् ।’ उनीहरूमाथि ज्यानसम्बन्धी कसुरमा अनुसन्धानका लागि ६ दिन हिरासतमा राख्न जिल्ला अदालतबाट अनुमति लिएको तिवारीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्