तपाईँ सुन्दै हुनुहुन्छः

वर्तमान निर्वाचन प्रणालीलाई बदल्नुपर्छ: जसपा अध्यक्ष यादव

बीरगंज । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले वर्तमान निर्वाचन प्रणाली महँगो भएको हुँदा यसलाई बदल्नुपर्ने कुरामा जोड दिनुभएको छ ।

जनता समाजवादी पार्टी नेपाल पर्साद्वारा आज वीरगन्जमा आयोजित वृहत् पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवले संविधानलाई संशोधन गर्दै आवश्यक परे पुनर्लेखन समेत गरेर सबैको पहिचानसँगै समानुपातिक साझेदारीको ग्यारेन्टी हुनुपर्ने बताउनुभयो ।

उहाँले मुलुकको स्थायित्व र विकासका लागि समानुपातिक समावेशी निर्वाचन प्रणाली आवश्यक रहेको बताउनुहुँदै दुई तिहाइको सरकार पनि टिक्न नसकेको अवस्थामा शासकीय निर्वाचन प्रणालीलाई परिवर्तन गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

अध्यक्ष यादवले वीरगन्जमा राजेशमान सिंहको प्रवेशले पर्सामा पार्टी सशक्त भएको र वीरगन्ज महानगरले अब युवा नेतृत्व पाउने दाबी समेत गर्नुभयो ।

त्यस अवसरमा वीरगन्जका चर्चित युवा नेता एवं पूर्व लोसपाका महामन्त्री समेत रहनु भएका राजेशमान सिंहको नेतृत्वमा सयौँ नेता कार्यकर्ता जसपा प्रवेश गरेका छन् ।

नव प्रवेशीहरुलाई केन्द्रिय अध्यक्ष उपेन्द्र यादव, सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, मुख्यमन्त्री लालबाबु राउत सहितका नेताहरूले फूलमाला लगाएर स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा जसपाका सङ्घीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले हिमाल पहाड, तराई र मधेसलाई एकताबद्ध बनाएर वैकल्पिक शक्तिको रुपमा जसपा उदाएको बताउँदै राजनीतिमा भित्रिएको भ्रष्टाचारको फोहोर गन्ध सफा गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले जसपाको कमजोरीमा खेल्न खोज्नेहरूलाई आजको कार्यक्रमले देखाई दिएको बताउँदै अब जसपालाई पर्सामा कुनै शक्तिले हराउन नसक्ने दाबी गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button