तपाईँ सुन्दै हुनुहुन्छः

बेलायतले मिथिला पेन्टिङको बजारीकरणमा सघाउने : बेलायती राजदूत  

जनकपुरधाम । नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले मिथिला पेन्टिङको बजारीकरण तथा व्यवसायीकरणका लागि बेलायत सरकारले सहयोग गर्ने बताउनुभएको छ । 

बेलायती राजदूत पोलिटले जनकपुरधामको वडा नंं १५ कुवा रामपुरमा रहेको नारी विकास केन्द्रको स्थलगत निरीक्षण गर्नुहुँदै महिला सशक्तीकरणका लागि यसको बजारीकरण आवश्यक भएको बताउनुभयो ।

 

उहाँले मिथिला पेन्टिङमा लागेका महिलाहरूलाई आर्थिक रुपमा सबल बनाउनका लागि बेलायत सरकारको प्रतिनिधिको हैसियतले आफूले सक्दो रुपमा सहयोग गर्ने पनि बताउनुभयो । 

निरीक्षणको क्रममा नारी विकास केन्द्रमा मिथिला पेन्टिङमा सक्रिय रहनुभएका महिलाहरूले यसको बारेमा राजदूतलाई जानकारी दिँदै बजारीकरणमा सहयोग गरिदिन आग्रह गर्नुभएको थियो । 

निरीक्षण क्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख रिता कुमारी मिश्र, जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ सहितका व्यक्तिहरूले बजारीकरण गर्नमा सहयोग गरिदिन बेलायती राजदूत निकोलालाई आग्रह गर्नुभएको थियो ।  

कुनै बेला जनकपुरधामको कुवामा रहेको नारी विकास केन्द्रमा दर्जनौँ महिलाहरूले मिथिला पेन्टिङ, अन्य सिरामीकका सामानहरूको उत्पादन गर्दै आएका छन् । नारी विकास केन्द्रका मिथिला पेन्टिङसहितका सामानहरू देश विदेशमा निर्यात हुने गरेकोमा अहिले आएर बजारीकरणको अभावले शिथिल बनेको छ । 

अहिले थोरै महिलाहरू मात्र मिथिला पेन्टिङमा सक्रिय रहेका छन् । बेलायती राजदूतको निरीक्षण भ्रमणले यसको बजारीकरण बढ्ने आशामा महिलाहरू रहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button