तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुन्छ : प्रधानमन्त्री देउवा

विराटनगर । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीयतहको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गर्न सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग पुर्‍याउनु आवश्यक रहेको बताउनुभएको छ । 

मोरङको सुन्दरहरैचा नगरपालिका–८ मा निमार्ण हुन लागेको  प्रशासनिक कार्यालय भवनको आज शिलान्यास गर्नुहुँदै उहाँले निर्वाचन सार्ने सरकारको कुनै मनसाय नरहेको प्रष्ट पार्नुभयो । मुलुक स्थानीय निर्वाचनको सङ्घारमा रहेकाले निर्वाचन सफल बनाउने दायित्व सबैको रहेको उहाँले बताउनुभयो । 

प्रधानमन्त्री देउवाले निर्वाचन गर्ने काम निर्वाचन आयोगको भएकाले निर्वाचनका गराउन सरकारले पुरापुर सहयोग गरेकाले  समयमा निर्वाचन गराउन निर्वाचन आयोग समेत कटिबद्ध रहेको बताउनुभयो । उहाँले निर्वाचनमा ढिलासुस्ती नहुने र निर्वाचनको मिति सार्ने सरकारको मनसाय नरहेको प्रष्ट पार्नुभयो । 

उहाँले धेरै मेडिकल कलेज बन्न सकेको खण्डमा देशलाई फाइदा पुग्ने भन्नुहुँदै  सुन्दरहरैचा नगरपालिकामा रहेको पूर्वाञ्चल विश्वविद्यालयलाई मेडिकल कलेजमा रूपान्तरण गर्न सरकारको सहयोग रहने  बताउनुभयो । 

प्रधानमन्त्री देउवाले मोरङको लेटाङमा गएराती महिला प्रहरीमाथि साङ्घातिक आक्रमण गरेर हत्या भएको  कुरा आफूले जानकारी पाएको भन्नुहुँदै त्यस विषयमा सरकारले आवश्यक छानबिन गरी दोषीलाई कडाभन्दा कडा  कारबाही गर्ने बताउनुभयो । 

प्रधानमन्त्री देउवाले सङ्घीय शासन प्रणाली लागु भएसँगै स्थानीयतहलाई विकास निर्माणको मुलप्रभामा अघि बढाउन संविधानले विभिन्न अधिकार दिएको उल्लेख गर्दै स्थानीय तहहरूले पनि पारदर्शी रुपमा सेवा प्रवाह गरेर जनताको मन जित्ने काम गर्नुपर्ने बताउनुभयो । 

सो कार्यक्रममा पुर्वमन्त्री एवं प्रतिनिधि सभाका सांसद भानुभक्त ढकाल, राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझी, गोपी अछामी तथा सुन्दरहरैचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकाल उपप्रमुख धनमाया तामाङले सो क्षेत्रको विकासमा जोड दिनु भएको थियो । 

४ विघा ८ कठा जग्गामा करिब २७ करोड रुपैयाँको लागतमा  प्रशासनिक भवन निमार्ण हुने सो नगरपालिकाले जनाएको छ ।  

यस अघि प्रधानमन्त्री देउवाले सुन्दरहरैचा नगरापालिका वार्ड न १ मा रहेको नगर अस्पतालको उद्घाटन समेत गर्नुभयो । १० कठा जग्गामा रहेको सो अस्पताल ३५ बेडको रहेको छ । सो अवसरमा प्रधानमन्त्री देउवाले अस्पतालका लागि जग्गा दिनुहुने जग्गा दातालाई सम्मान समेत गर्नु भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button