तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली अनुसन्धानकर्ताले गलत साबित गरे नासाले पत्ता लगाएको तीन ग्रह

काठमाडौँ । अमेरिकी अन्तरिक्ष संस्था (नासा)ले २०२२को मार्च १८ सम्म पत्ता लगाएका सौर्य मण्डलभन्दा बाहिरका ४ हजार ९४० वटा ग्रह मध्ये ३ वटा ग्रह नभएको पत्ता लागेको छ ।

यी ग्रहहरूमध्ये नासाको केप्लर मिसनले १२ सय ८४ सय वटा ग्रह पत्ता लगाएको थियो । नाशाको उक्त मिसनले ग्रह भनेका केप्लर–८५४ बी, केप्लर–८४० बी, केप्लर–६९९ बी ग्रह नभएर तारा भएको पुष्टि भएको हो ।

अन्तरिक्षमा ग्रह तथा आकाशीय पिण्डको अध्ययन अनुसन्धान गर्नका लागि भनेर सन् २००९ मा सुरु भएको केप्लर मिसन २०१८मा सकिएको थियो । सन् २०१६ मा केप्लर मिसनमार्फत ग्रह पत्ता लगाउने नयाँ वैज्ञानिक विधिको विकास भएको थियो । त्यही विधिमार्फत १२ सय ८४ वटा ग्रह पुष्टि भएका थिए । अनुसन्धानकर्ताहरूले पनि नाशाको त्यही विधिबाट अनुसन्धान गरी तीन वटा ग्रह नभएको पुष्टि गरेका हुन् ।

नासाले ग्रह भनेर पुष्टि गरेका यी ग्रहहरूमध्ये ३ वटा ‘ग्रह’नै नभएको पत्ता लगाउने अनुसन्धानकर्तामा एक जना नेपाली हुनुहुन्छ । उहाँहरूले नासाले नै ग्रह भनेको अर्को एउटा पिण्डमाथि पनि प्रश्न उठाउनुभएको छ ।

अमेरिकाकाको म्यासुच्युएट इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) मा खगोल विज्ञानमा विद्यावारिधी गरिरहनुभएका प्रज्वल निरौलाले केप्लर टेलिस्कोपले नाशाले ग्रह पुष्टि गरेका ३ वटा आकाशीय पिण्ड वास्तवमा ग्रह नभएर तारा भएको पुष्टि गर्नुभएको हो । निरौलाले गरेको यो अनुसन्धान सम्बन्धीको विस्तृत अध्ययन मार्च १५मा एस्ट्रोनोमिकल जर्नलमा प्रकाशित छ ।

युरोपेली स्पेस एजेन्सीको अन्तरिक्ष पर्यवेक्षक टेलिस्कोप ‘गाया’मार्फत केप्लरको तथ्याङ्क उहाँ र उहाँका प्रोफेसर जुलियन डी विट र अन्य दुई जना मिलेर अनुसन्धान गर्नुभएको थियो । तथ्याङ्क विश्लेषण गर्दा तीनवटा ग्रहहरु तारा भएको पुष्टि भएको हो ।

अनुसन्धानकर्ता निरौला नाशाले जुन विधि मार्फत केप्लर टेलिस्कोपले १२ सय ८४ वटा आकाशाीय पिण्ड पत्ता लगाएको थियो त्यही विधि मार्फत तथ्याङ्क सङ्कलन र विश्लेषण गरिएको बताउनुहुन्छ । उक्त विधि सही हुनका लागि ताराको आकार पनि सही हुनुपर्थ्यो तर अनुसन्धानले त्यो नदेखाएको उहाँ बताउनुहुन्छ ।

खगोलशास्त्रीहरु ब्रह्माण्डमा कुनै पनि ग्रह बृहस्पतिभन्दा दुई गुणा बढीले ठुला हुनै नसक्ने मान्यता राख्छन् । निरौलाले गरेको अनुसन्धानमा ग्रह भनिएका केप्लर–८५४बी, केप्लर–८४०बी, केप्लर–६९९बीको आकार बृहस्पतिभन्दा दुई गुणा बढीले ठूलो देखिएको थियो ।

बृहस्पतिभन्दा दुई गुणा बढीले ठूलो ग्रह सम्भव नै नभएको उहाँहरूको दाबी छ । निरौलाको समूहले केप्लर ग्रह भनेको ७४७–बी माथि समेत प्रश्न तेर्साएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button