तपाईँ सुन्दै हुनुहुन्छः

केपी ओली प्रतिगामी भएको माधव नेपालको आरोप

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिगामी चरित्रका नमुना भएको आरोप लगाउनु भएको छ । 

आइतबार पार्टी केन्द्रीय कार्यालय काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओली परिवर्तनका वाहक नभएको बताउनुभएको हो । 

आफूहरू देश र जनतालाई केन्द्रबिन्दुमा राखेर राजनीतिक यात्रालाई निरन्तर अगाडि बढाइरहेको उहाँले बताउनुभयो । ‘हामी देश र जनतालाई केन्द्रबिन्दुमा राखेर आफ्नो राजनीतिक यात्रा अगाडि बढाइरहेका छौँ,’ उहाँले भन्नुभयो, ‘केपी ओली परिवर्तनको वाहक होइनन् । प्रतिगामी चरित्रका नमुना हुन् ।’

त्यसैगरी एकीकृत समाजवादी देशव्यापी रुपमा फैलिएको उहाँले बताउनुभयो । गोरखा र धादिङका कार्यक्रमको स्मरण गर्दै अध्यक्ष नेपालले पार्टीमा उत्साह देखिएको दाबी गर्नुभयो । जनताले नेकपा (एस) बाट ठूलो अपेक्षा गरेका बताउँदै अध्यक्ष नेपालले जनताको आशामा इमानदारिता, निष्ठा र समर्पणको भावनाले अगाडि बढ्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो।  

साथै ओली सबै ठाउँमा पराजित भइसकेको उहाँले दाबी गर्दै एमाले परित्याग गरेर नेकपा (एस) मा प्रवेश गर्नेको लहर चलेको बताउनुभयो। 

कार्यक्रममा दोलखा विगुका ६० भन्दा बढी युवा एमाले र माओवादी केन्द्र परित्याग गरी नेकपा (एस) मा प्रवेश गरेका छन् ।  विगु गाउँपालिका वडा नम्बर ६ र ७ का युवाहरूलाई अध्यक्ष नेपालले पार्टीमा स्वागत गर्नुभएको छ । नवप्रवेशीहरुलाई अध्यक्ष नेपाल र पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले टिका र खादा लगाएर स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button