तपाईँ सुन्दै हुनुहुन्छः

भयरहित निर्वाचन गर्न सबै प्रतिबद्ध हुनुपर्छ: प्रधानमन्त्री देउवा

काभ्रेपलान्चोक । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सबै प्रतिबद्ध हुनुपर्ने बताउनुभएको छ ।

आज काभ्रेपलान्चोकको तेमाल गाउँपालिकाको पोखरी नारायण स्थानमा नवनिर्मित प्रशासकीय भवनको उद्घाटन कार्यक्रममा उहाँले निर्वाचनलाई सबै पक्षले निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

मुलुकमा तीन तहको सङ्घीय शासन प्रणाली लागू भएसँगै संविधानले स्थानीय तहलाई विकास निर्माण र सेवा प्रवाहको क्षेत्रमा विभिन्न महत्त्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको उहाँको धारणा थियो । प्रम देउवाले नागरिकको नजिकको सरकार भनेकै स्थानीय तह भएकाले यस सरकारसँग अपेक्षा हुनु स्वाभाविक रहेको उल्लेख गर्नुभयो ।

यसअघि प्रम देउवाले तेमाल गाउँपालिका–५ पोखरी नारायण स्थानस्थित एकै स्थानमा निर्मित स्वयम्भू, बौद्ध, नमोबुद्ध स्तुपाको उद्घाटन गर्नुभएको थियो । नेपाली काँग्रेसका जिल्ला सभापति तीर्थ लामा, नेकपा (माओवादी केन्द्र)का जिल्ला इन्चार्ज सूर्यमान दोङ, नेपाली कांग्रेस तेमाल गाउँपालिका सभापति ज्ञानबहादुर लामाले गाउँपालिकाले जनहितलाई केन्द्रबिन्दुमा राखेर काम गरेको बताउनुभएको थियो ।

त्यस अवसरमा गाउँपालिका अध्यक्ष सलामसिंह तामाङले रु ४ करोड ६४ लाखमा गाउँपालिकाको तीन तले प्रशासकीय भवन निर्माण सम्पन्न गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button