पन्ध्र दिने मध्यमा मिथिला परिक्रमा सम्पन्न

जनकपुरधाम । तराई मधेशको महाकुम्भ मानिने १५ दिने मध्यमा मिथिला परिक्रमा पञ्चकोशी अन्तरगृह परिक्रमा सँगै सम्पन्न भएको छ । आज बिहान अबेर रातिबाट नै जनकपुरधामको अन्तरगृह परिक्रमा गरी १५ दिने मिथिला परिक्रमाका तीर्थयात्रीहरू आ–आफ्नो घर फर्केका छन् ।
मध्यमा तथा अन्तगृह परिक्रममा यस वर्ष विगत वर्षहरू भन्दा निक्कै बढी श्रद्धालु भक्तजन सहभागी हुनु भएको छ । अन्तरगृह परिक्रममा १५ दिने मध्यमा मिथिला परिक्रमा बाहेकका कैयौँ गुणा बढी तीर्थयात्रीहरू सहभागी हुने भएकाले १५ किलोमिटरमा आज बिहान ११ बजेसम्म तीर्थयात्रीहरूको मुन्टो मात्र देखिने भएकाले कैयन लाख व्यक्तिको सहभागिताको अनुमान गरिएको छ । .
मध्यमा तथा अन्तगृह परिक्रममा सहभागी हुनाले विभिन्न प्रकारका रोग, दुःख, कष्ट कलेशबाट मुक्ति मिल्नुका साथै नोवाञ्छित फल प्राप्त हुने तथा देश त्याग भएपछि वैकुण्ठको वास हुने धार्मिक जनविश्वास रही आएको छ । अन्तरगृह परिक्रमा सकिएपछि मध्यमा मिथिला परिक्रमाका तीर्थयात्रीहरू आ आफ्नो वास स्थान तर्फ फर्केका छन् ।
फागुन शुक्लपक्ष प्रतिपदाका तिथिबाट जनकपुरधामको हनुमानगढीवाट परिक्रमाको शुभारम्भ हुने गरेको छ । धनुषाको मिथिला विहारी नगरपालिकाको कचुरी स्थित मिथिला विहारी मन्दिरबाट मिथिला विहारी भगवान् रामको डोला तथा जनकपुरधामको अग्निकुण्डवाट किशोरी जी अर्थात् माता सीताको डोला बाजा गाँजा सहित भगवानको जयजयकार गर्दै उठ्ने गरेका छन् ।
१५ दिन लगाएर गर्ने मध्यमा मिथिला परिक्रमाका तीर्थयात्रीहरू नेपाल भारतको विभिन्न धार्मिक स्थलहरूमा रात्रि विश्राम गर्दै १ सय ३३ किलोमिटरको दूरी खाली खुट्टा भजन कीर्तन सहित तय गर्ने गर्दछ ।
वृहत्, मध्यमा र अन्तरगृह गरी तीन प्रकारको परिक्रमा गर्ने गरेकोमा अहिले दुई वटा परिक्रमा गर्ने चलन रहेको छ बृहत् परिक्रमा ६ महिना लगाएर साधुसन्त तथा योगीहरूले गर्ने गरेकोमा अहिले लोपको अवस्थामा रहेको छ । .
१५ दिने मध्यमा मिथिला परिक्रममा अन्तर्गत क्रमशः जनकपुरको हनुमानगढी, भारतको विहारका कलना स्थित कल्यानेश्वर स्थान, भारतकै फुलहर स्थित गिरिजा स्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडैई, धुव्रकुण्ड, कञ्चनवन धनुषाको पर्वता, धनुषाधाम, सतोखर, औरही भएर पुनः भारतको विहार राज्यको करुण, विसौल हुँदै अन्तिम दिन अर्थात् १५ औ दिन जनकपुरधामको अन्तरगृह परिक्रम गरी मध्यमा मिथिला परिक्रमा सम्पन्न हुने गर्दछ ।
पन्ध्र दिने मिथिला माध्यमिकी परिक्रममा सहभागी नहुने अधिकांश श्रद्धालु भक्तजनहरू अन्तिम दिन जनकपुरको अन्तरगृह परिक्रममा सहभागी हुने गर्दछन् । यस परिक्रममा युवायुवतीहरूको सङ्ख्या पनि उल्लेखनीय रहन्छ ।
यस वर्ष परिक्रमा नेपालको धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरी, रौतहट, बारा पर्सा, लगायत भारत विहारको सितामढी, मधुबनी, दरभंगा सहितका स्थानबाट लाखौं श्रद्धालुभक्तजन तथा साधुसन्त, महन्थ, योगी, सन्यासी, भिक्षु भिक्षणीहरु मध्यमा मिथिला परिक्रममा सहभागी हुने गर्दछन् ।
विगत दुई तीन दशक अगाडीसम्म वन्दोवस्तिका सामानहरू टाउकोमा बोकेर हिँड्ने मध्यमा मिथिला परिक्रमाका तीर्थयात्रीहरूको सामानहरू अहिले टायरगाडा, ट्याक्टर आदीमा राखेर एक पडाव स्थलबाट अर्को पडाव स्थलमा पुर्याउने गरिन्छ । परिक्रमाका तीर्थयात्रीहरूका लागि विभिन्न सङ्घ संस्था एवं व्यक्तिहरूले निःशुल्क भोजन, स्वास्थ्य शिविर र आवासको व्यवस्था गर्ने गर्दछन् ।






प्रतिक्रिया राख्नुहोस्