तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटन प्रवर्द्धनका लागि कला, संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कला, संस्कृति भनेको देश चिनाउने गहना भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको बताउनुभएको छ । 

फागु पूर्णिमा (होली पर्व)का अवसरमा आज ज्यापु समाज यल ललितपुरले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा मन्त्री आलेले कुनै पनि हालतमा संस्कृति मासिन दिन नहुने बताउनुभयो । नेपाल कला र संस्कृतिको धनी भएकाले यहाँ पर्यटक भित्र्याउन तथा पर्यटन प्रवर्द्धनका लागि आफ्नो मौलिक कला, संस्कृतिलाई जोगाएर राख्नुपर्ने उहाँले धारणा राख्नुभयो । कला, संस्कृतिबिना मान्छेको जीवन अधुरो हुने भएको उल्लेख गर्दै मन्त्री आलेले यसको जगेर्ना र संरक्षणका लागि युवापुस्ता अघि बढ्नुपर्ने धारणा राख्नुभयो । 

पछिल्लो समय विभिन्न मठमन्दिर, धर्मशालालगायत क्षेत्र व्यक्तिगत स्वार्थका लागि अधिग्रहण गर्ने क्रम बढेको भन्दै उहाँले त्यस्ता व्यक्ति र समूहलाई कारबाहीको दायरामा ल्याइने बताउनुभयो । पुरातात्त्विक महत्त्वका सम्पदाको संरक्षणका लागि आफू सधैँ कटिबद्ध रहेको मन्त्री आलेको भनाइ थियो । नेपालबाट केही समय पहिले चोरी भएका मूर्ति अमेरिका, बेलायत, फ्रान्स, इटालीलगायत देशबाट ल्याइएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कोरोना महामारीका समयमा विदेशमा रहेका नेपालीलाई ल्याउन गरिएको चार्टड उडानमा आर्थिक अनियमितता भएको छ, प्रमाण जुटाउँदै छौँ, चाँडै  कानुनबमोजिम कारबाही गर्छौँ ।” रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button