तपाईँ सुन्दै हुनुहुन्छः

भेटघाटको स्थल बन्यो लेखनाथ महोत्सव

कास्की । पोखरा ३२ निवासी अञ्जलि पण्डितले कास्कीको लेखनाथमा जारी महोत्सव स्थलमा पोखरा २६ निवासी आफ्नी आमा भगवती सिग्देलसँग भेटेर सुख दुःखका कुरा गर्ने अवसर मिलेकोमा खुसी व्यक्त गर्नु भएको छ ।

यो त एउटा प्रतिनिधिमूलक उदाहरण मात्र हो, यस्तै महोत्सवमा आउने दर्शकहरूले आफन्त बाल्यकालका साथी देखि सहपाठीहरूलाई भेट्ने अवसर पनि मिलेको सुनाउने गरेका छन् ।

महोत्सवमा आए पछि रमाइलो पनि हेर्न पाइने आफूलाई आवश्यक पर्ने सामान पनि किन्न पाइने र साथीभाइ, इष्टमित्र, माइती मावली र प्रेम प्रेमिकाको समेत भेटघाट हुने स्थल बनेको छ लेखनाथमा जारी १७ औँ संस्करणको लेखनाथ महोत्सव ।

जारी महोत्सवको मध्यभाग सम्म आइपुग्दा दिन प्रतिदिन दर्शको चाप सँगै कारोबारमा पनि वृद्धि हुँदै आउँदा आयोजकहरू पनि खुसी देखिन्छन् । महोत्सवको छैटौँ दिनसम्म चलिरहँदा मङ्गलवारमात्र करिब २५ लाख बरावरको आर्थिक कारोबार भएको र अहिलेसम्म आउँदा करिब दुई करोड ४० लाख बरावरको कारोबार भएको स्टलमा गरिएको व्यापारको सर्वेक्षणले देखाएको महोत्सव प्रचार प्रसार उपसमितिका संयोजक गोपीचन्द्र बास्तोलाले जानकारी दिएका छन् ।  

सुरुमा आयोजकहरूले वातावरणीय प्रतिकुलताको आकलन गरेपनि अहिलेसम्म वातावरण अनुकूल रहेकाले दैनिक रुपमा दर्शकको चाप बढेको बताउँदै आएका छन् । यसैबिच महोत्सवको छैटौँ दिन मङ्गलवार मात्र करिब १५ हजार दर्शकले मेलाको अवलोकन गरेको र अहिलेसम्म आइपुग्दा दर्शकको सङ्ख्या करिब ९५ हजार पुगेको संघका अध्यक्ष छत्रधर आत्रेयको भनाई रहेको छ । 

फरक फरक दिन फरक फरक शैलीको प्रस्तुतिले दर्शकलाई मनोरञ्जन प्रदान गरिएकाले दोहोरीका पारखी देखि युवाहरूलाई लक्ष्यीत गरी राखिएको डिजे र पप कन्सर्टका कारण सबै प्रकृतिका दर्शकको सहभागिताले महोत्सवलाई थप रोचक बनाएका र एउटै स्थलमा उत्पादक देखि उपभोक्ताको मिलन हुने भएपछि यो महोत्सवको पनि महोत्सव साबित भएको आयोजकहरूको दाबी रहेको छ । 

यसैबीच महोत्सवमा छैटौँ दिन लोक दोहोरी गायक पशुपति शर्मा र प्रति आलेको बेजोड दोहोरीमा दर्शकहरू आफु बसैकै ठाउँबाट उठेर नाचेको देखिन्थ्यो भने महोत्सवको सातौँ दिन बुधवार लोकदोहोरीमा प्रजापति पराजुली, राजन गुरुङ, सरला पाण्डे, कृष्ण अकेली, सिला आले, राजेन्द्र पाठक, मिना नेपाल र पप कन्सर्टमा प्रमोद खरेल र किरण भुजेलको बेजोड प्रस्तुति रहने स्टेज संयोजक नेत्रपाणी बास्तोलाले जानकारी दिनु भयो । 

महोत्सवमा कृषिजन्य स्थानीय उत्पादन देखी अटो, सूचना प्रविधि, खाद्य, लत्ताकपडा, सेवा सूचना लगायतका तीन सय भन्दा बढी स्टल रहेका छन् । महोत्सव चैत्र ७ गतेसम्म सञ्चालन हुनेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button