तपाईँ सुन्दै हुनुहुन्छः

मिथिला मध्यमा परिक्रममा यात्रा जनकपुरधाम आउँदै

जनकपुर । मिथिलाञ्चलमा प्रसिद्ध १५ दिने लामो मिथिला मध्यमा परिक्रमा यात्रामा सहभागी श्रद्धालु भक्तजन आज बिहानैदेखि जनकपुरधाम फर्किन थालेका छन् । 

धनुषाको मिथिला विहारी नगरपालिका–८ स्थित मिथिला विहारी मन्दिरबाट झाँकी र कीर्तनसहित सुरु भएको उक्त यात्रा आज १५औँ दिन जनकपुरधाम फर्किन लागेको हो । 

परिक्रमाको डोला फागु पूर्णिमाको दिन जनकपुरधाम फर्किएर नगरको पाँचकोशे अन्तगृह परिक्रमा गरी समाप्त हुने विहारी मन्दिरका महन्थ रामनरेश दासले बताउनुभयो ।

त्रेतायुगमा मिथिलाका राजा जनककी पुत्री सीतासँग अयोध्याका राजा दशरथका ज्येष्ठ सुपुत्र रामसँग शुभ विवाह पछि परिक्रमा मार्ग भएर भ्रमण गरेको स्मरणमा प्रत्येक वर्ष फागुन शुक्ल पक्ष प्रतिपदाका दिनदेखि १५ दिन मिथिला मध्यमा परिक्रममा गर्ने चलन छ । 

परिवारजनको शान्ति, समृद्धि, सुख र ऐश्वर्य प्राप्तिसहित अन्त्यमा मोक्ष मिल्ने विश्वासका कम्तीमा पनि एक पटक भए पनि उक्त परिक्रममा सहभागी हुनुपर्ने धार्मिक मान्यता रहिआएकाले परिक्रमा यात्रामा सहभागी लाखौँ तीर्थयात्री खाली खुट्टा श्रद्धासहित भ्रमण गर्ने गर्दछन् । 

परिक्रमाका क्रममा १५ दिनसम्म डोलालाई जनकपुरधामबाट कल्याणेश्वर हुँदै फुलहर, मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कन्चनवन, क्षिरेश्वरनाथ (पर्वत्ता), धनुषाधाम, सतोषर (मिथिलेश्वरनाथ), अउढी, करुणा, बिसौल र फेरि कल्याणेश्वरसम्म पुग्ने परम्परा रहेको महन्थ दासले बताउनुभयो । 

नेपाल र भारतबीचको धार्मिक सांस्कृतिक एवं पारस्परिक सद्भावका प्रतीक बनेको परिक्रमाका क्रममा श्रद्धालुहरूले १३५ किलोमिटर पैदल यात्रा गर्ने गर्दछन् । 

श्रद्धालुको सुविधाका लागि नेपालको धनुषा र महोत्तरीको १३ तथा भारतको दुई गरी १५ विश्राम स्थलमा अन्न क्षेत्र घोषणा गरेर साधु सन्त तथा भक्तजनलाई निःशुल्क भोजन गराउने चलन रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button