तपाईँ सुन्दै हुनुहुन्छः

‘उपलब्धि रक्षाका लागि माओवादीले श्रेष्ठता हासिल गर्नुको विकल्प छैन’

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक उपलब्धि रक्षाका लागि आगामी निर्वाचनमा पार्टीले श्रेष्ठता हासिल गर्नुको कुनै विकल्प नभएको बताउनुभएको छ ।

उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समितिको राजनीतिक–वैचारिक प्रशिक्षणलाई सम्बोधन गर्दै उहाँले आगामी निर्वाचन पार्टीका लागि जीवन मरणको लडाइँ भएकाले सम्पूर्ण तागत निर्वाचनमा केन्द्रित गर्न आग्रह गर्नुभयो ।

राष्ट्रिय स्वाधीनताको रक्षा, मुलुक र जनताको समृद्धि माओवादीबाट मात्रै सम्भव भएको उल्लेख गर्दै उहाँले माओवादीले देशलाई दुर्घटनाबाट बचाउन अवलम्बन गरेका नीतिलाई जनतामाझ बुझाउन व्यापक जनपरिचालन आवश्यक रहेको बताउनुभयो ।

विपक्षीले यसअघिका निर्वाचनका क्रममा अनेक हत्कण्डा अपनाएर नतिजा आफ्नो पक्षमा पार्दै आएको स्मरण गराउँदै उहाँले त्यस्ता प्रवृत्तिको प्रतिवाद गर्दै जनताका मन जितेर माओवादीलाई विजयी गराउनुपर्ने बताउनुभयो ।

पुसमा सम्पन्न आठौँ महाधिवेशनको जगमा गत फागुनमा सम्पन्न केन्द्रीय समितिको बैठकबाट सम्पूर्ण पार्टी पङ्क्तिलाई एकताबद्ध रूपमा निर्वाचनमा केन्द्रित गर्ने नीति लिइएको उल्लेख गर्दै उहाँले पार्टीभित्रको अन्तर्विरोधलाई थाँती राखेर निर्वाचनमा होमिन नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । केन्द्रीय समितिको निर्णयअनुसार नै पार्टीले दुई महिने निर्वाचन अभियान सञ्चालन गरिएको उल्लेख गर्दै अध्यक्ष दाहालले सम्पूर्ण नेता अब पालिका केन्द्रित हुनुपर्ने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले शान्ति प्रक्रिया, गणतन्त्र, सङ्घीयता लगायत प्राप्त उपलब्धिको रक्षाका लागि व्याख्यात्मक घोषणासहित एमसिसी सम्झौता अनुमोदन गर्नुपरेको प्रष्टीकरण दिनुभयो । बढी क्रान्तिकारी हुन खोज्दा प्राप्त उपलब्धि गुमेको विगत स्मरण गर्दै अध्यक्ष दाहालले एमसिसीलाई अगाडि नबढाउँदा मुलुक राजनीतिक सङ्कटमा फस्ने अवस्थामा पुगेको चित्रित गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button