तपाईँ सुन्दै हुनुहुन्छः

होली सभ्य र मर्यादित ढङ्गले मनाउन आग्रह

बीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रमेश कुमार बस्नेतले होली पर्व सभ्य र मर्यादित ढङ्गले मनाउन आग्रह गर्नुभएको छ ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्श नगरद्वारा आज वीरगन्जमा आयोजित चेतनामूलक र्‍याली एवं कार्यक्रमलाई सम्बोधन गर्दै एसपी बस्नेतले रङ्गहरूको पर्व होलीलाई उच्छृङ्खल गतिविधिबिना सभ्य भएर मनाउनुपर्नेमा जोड दिनुभयो ।

ग्रिन सिटी सामुदायिक सेवा केन्द्र आदर्श नगरका अध्यक्ष जयप्रकाश खेतानको सभापतित्वमा सम्पन्न कार्यक्रममा आदर्शनगर भएर हिँड्ने पैदल यात्रु, मोटरसाइकल चालक एवम् अन्य सवारी चालकहरूलाई सचेतनामूलक सन्देशसहितको पर्चा वितरण गरिएको थियो ।

जबरजस्ती रङ्ग नलगाउन, सभ्य भएर होली मनाउन, देखासिकी र फजुल खर्च गरेर चाड नमनाउन, कसैको इच्छा विपरीत रङ्ग तथा लोला हान्ने काम नगर्न लगायतका सन्देशहरू पर्चामा उल्लेख गरिएको छ ।

त्यस अवसरमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्की, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक राजेशराज पुरी, प्रहरी चौकी आदर्श नगरका प्रहरी नायब निरीक्षक गौरीशङ्कर साह, सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष ग्यासुदिन मियाँ ठकुराइ सहित सेवा केन्द्रका पदाधिकारी, सञ्चारकर्मी, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button