तपाईँ सुन्दै हुनुहुन्छः

विश्वविद्यालयमा हडताल गर्ने काम बन्द गर्न प्राध्यापकहरूलाई शिक्षा मन्त्रीको आग्रह

काठमाडौँ ।  शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयमा हडताल गर्ने काम बन्द गर्न प्राध्यापकहरूलाई आग्रह गर्नुभएको छ ।

आज बिहान नेपाल प्राध्यापक संघका पदाधिकारीसँग मन्त्रालयमा छलफल गर्दै मन्त्री पौडेलले स–साना कुरालाई लिएर विश्वविद्यालयमा हडताल गर्नु गलत भएको बताउनुभयो ।

“लोकतान्त्रिक मर्यादा अनुरूप माग प्रस्तुत पाइन्छ”, मन्त्री पौडेलले भन्नुभयो, “लामो समयसम्म पढाई अवरुद्ध हुने गरी विश्वविद्यालयमा गरिएको हडताल रोक्नुपर्‍यो । प्राध्यापक सङ्घले होमवर्क गरी समस्या बुझेर समाधानको निकास निकाल्ने गरी पहल गर्नुहोस् ।”

उहाँले सबै विश्वविद्यालयका सेवा आयोगहरू एकै प्रकृतिको भएकाले एकरूपता कायम गरिने बताउनुभयो । उहाँले प्राध्यापकका सेवा सुविधा सम्बन्धमा सबै राष्ट्रसेवकलाई एउटै मापदण्ड बनाएर अघि बढ्ने योजनामा रहेको बताउनुभयो । 

मन्त्री पौडेलले विश्वविद्यालयहरू समस्या परे मात्र मन्त्रालयमा आउने गरेको भन्दै नियमन संयन्त्र र स्वायत्तको स्पष्ट खाका तयार गर्नुपर्ने बताउनुभयो । 

“विश्वविद्यालयहरूले समस्या परेको बेला मन्त्रालयमा आउने तर अरू जिम्मेवारी, अनुशासन र नियमन सुधारका अवस्थामा स्वायत्त भएको भन्ने गरिएको ।”, मन्त्री पौडेलले भन्नुभयो, “नियमन संयन्त्र र स्वायत्तताको स्पष्ट खाका तयार गर्नुपर्ने भएको छ ।”

त्रिभुवन विश्वविद्यालयलाई केन्द्रीय विश्वविद्यालयको रुपमा विकास गर्ने तयारी रहेको उहाँले जानकारी दिनुभयो । 

“राष्ट्रिय प्रकृतिका विश्वविद्यालयहरू विषयगत विशिष्टीकरणका आधारमा केन्द्रिय विश्वविद्यालयको मातहतमा रहने गरी तयारी गरेका छौँ” उहाँले भन्नुभयो, “उच्च शिक्षालाई नियमन गर्ने गरी ऐनमाथि छलफल भइरहेको छ ।”

छलफलमा नेपाल प्राध्यापक सङ्घको तर्फबाट बुद्धबहादुर थापाले प्राध्यापकहरूको मर्यादा क्रम: २०७४ सालको मन्त्रिपरिषद्को बैठकबाट निर्णय भएर राजपत्रमा निस्किसकेकाले कार्यान्वयनका लागि पहल गरिदिन आग्रह गर्नुभयो ।

 प्राध्यापकहरूले तलबमान: सार्क स्तरीय बनाउने, त्रिवि र नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापकहरूको निवृत्तिभरण उपलब्ध गराउने, स्वास्थ्य सुविधा: शिक्षक अस्पताल जस्तै प्राध्यापक र विश्वविद्यालयका शिक्षक कर्मचारीहरूलाई समेत निजामती अस्पतालभन्दा बेग्लै किसिमको स्वास्थ्य सेवाको व्यवस्था हुनुपर्ने लगायतका माग राख्नुभएको थियो ।  

लामो समयदेखि आंशिक प्राध्यापक तथा विभिन्न विद्यार्थी सङ्घ सङ्गठनहरूले त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गर्दै आइरहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button