झापामा ट्याम्पो चालक यात्रुबाट लुटिए
झापा । झापाको अर्जुनधाराका एक ट्याम्पो चालक यात्रुबाट लुटिएका छन् ।
दुई जना यात्रुले ट्याम्पो चालकको धनमाल लुटपाट गरेको शनिश्चरे प्रहरीले जनाएको छ ।
सोमबार साँझ ६ः३० बजे अर्जुनधारा नगरपालिका– ५ स्थित बाँसबारी बस्ने ३३ वर्षीय चन्द्र दाहाल लुटिएका हुन् । उनको साथमा रहेको ३५ हजार रुपैयाँ बराबरको धनमाल लुटिएको बताइएको छ ।
मे१ह ५६८३ नम्बर ट्याम्पोका चालकबाट लुटेराहरूले १० हजार रुपैयाँ नगद, घडी १ थान, मोबाइल १ थान, चाँदीको बाला १ थान र ट्याम्पोको १ थान चाबी सहित लुटेका छन् ।
“आइतबार साँझ ६ः१० बजे चार पानेमा दुई जना यात्रु हामी शनिश्चरे जान्छौँ, लक्ष्मीपुर बाटो हुँदै हामीलाई शनिश्चरे पुर्याउन भन्दै ट्याम्पोमा चढे । अनि मैले ट्याम्पो चार पाने – लक्ष्मीपुर हुँदै शनिश्चरेतिर ल्याउने क्रममा दयार गाउँ नजिक एकान्त ठाउँमा आइपुग्दा एक जनाले एकासी ट्याम्पो रोक भनेपछि मैले ट्याम्पो रोके । दुई जनाले मलाई मुक्काले मुखमा हिर्काउँदै लछारपछार गरेर उनीहरूले मेरो गोजीबाट पर्समा रहेको नगद र जिन्सी सामानहरू लुटे ।” पीडित दाहालले भने ।
लुटेराहरूको तत्काल खोजी गरी पक्राउका लागि दाहालले शनिश्चरे प्रहरी चौकीमा सोमबार निवेदन दिएका छन् ।







प्रतिक्रिया राख्नुहोस्