पातारासी गाउँपालिकामा २३३ योजना निर्माण सम्पन्न

जुम्ला । जुम्लाको पातारासी गाउँपालिकाले गत आर्थिक वर्षमा २ सय ३३ वटा योजना निर्माण निर्माण गरेको छ । आव २०७७/७८ मा पुँजीगत तर्फ विनियोजित २३ करोड ५८ लाख मध्ये १९ करोड १८ लाख खर्चेर पालिकाका ७ वटा वडामा २ सय ३३ वटा योजना निर्माण भएको पातारासी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालले बताउनुभयो ।
उहाँका अनुसार गत आ.व.मा छनोट भएका २ सय ३७ योजना मध्ये २ सय ३३ सम्पन्न भएको र बाँकी ४ वटा योजनामध्ये १ योजनाको बजेट नै फ्रिज भएको छ । भने ३ योजना निर्माणाधीन रहेका छन् ।
भौगोलिक रुपमा विकट पातारासीका बस्तीमा सडक,भवन,खानेपानी,सिँचाइ,बाटो, विद्युतगृह मर्मत, खेलकुद पूर्वाधार लगायतका पूर्वाधार निर्माणलाई प्राथमिकता साथ अघि बढाइएको थियो । पालिकाको पूर्वाधार विकासलाई गति दिन पुँजीगत बजेटको खर्चलाई प्रभावकारी बनाइएको उहाँको भनाई छ ।
निर्माण सम्पन्न भएका २३३ वटा योजना मध्य वित्तीय समानीकरण तर्फका १२८ वटा योजना रहेका छन् । भने, प्रधानमन्त्री रोजगार कार्यक्रमतर्फका १४, मुख्यमन्त्री रोजगार कार्यक्रम तर्फका १९, नेपाल जलवायु परिवर्तन तर्फका ९ वटा योजना सम्पन्न भएका हुन् ।

पातारासीको भौतिक प्रगति विवरण अनुसार वित्तीय समानीकरण तर्फ जनतासँग अध्यक्ष/उपाध्यक्ष कार्यक्रम अन्तर्गत ४९ वटा योजना निर्माण भएका छन् । त्यस्तै, सङ्घ, प्रदेशको समपूरक विशेष अनुदानबाट ८ वटा योजना, समानीकरण पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट १, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम मार्फत ३, शिक्षातर्फ ३, खेल मैदान १ र कृषि पकेट क्षेत्रका १ गरी जम्मा २ सय ३३ योजना सम्पन्न भएको पातारासी गाउँपालिकाले जनाएको छ ।
साथै पातारासी गाउँपालिकाले चालु आ.व.का लागि १९० वटा योजना छनोट गरेको छ । कार्यकालको अन्तिम वर्षमा जनप्रतिनिधिले जनताका मागमा आधारित योजनालाई प्राथमिकता दिइएको छ ।
भौतिक पूर्वाधार निर्माणसँगै पातारासी गाउँपालिका जिल्लाकै पहिलो उज्यालो पालिका घोषणाको तरखरमा रहेको पालिका अध्यक्ष लक्षिमन बोहोराले बताउनुभयो । उहाँले भन्नुभयो, “पालिकाभरि करिब १६ वटा जलविद्युत आयोजना रहेका छन् । बजारको भन्दा राम्रो बत्ती पातारासीका गाउँमा छ । पुराना जीर्ण विद्युत् गृह मर्मतसँगै विद्युतीकरणलाई जोड दिएका छौ । कार्यवधि २ महिना जति बाँकी रहेकोले पछि आउने जनप्रतिनिधिलाई उज्यालो पालिका घोषणा गर्ने आधार तय गरिदिएका छौ ।”
पहिलो कार्यकाल शिक्षा, स्वास्थ्य, कृषिका नीति निर्माण गर्दै, जनताका आधारभूत आवश्यकता पुरा गर्दै बितेको आफ्नो लक्ष्यअनुसार खासै ठुला योजना निर्माण नभएपनि आउने प्रतिनिधिले ढुक्क भएर काम गर्ने वातावरण सृजना भएको अध्यक्ष बोहोराको भनाई छ ।
विश्वकै अग्लो स्थानमा मार्सीधान फल्ने छुमचौर ज्युलोलाई आकर्षक पर्यटकीय गन्तव्य बनाउन डिपिआर बनाएर पूर्वाधार निर्माण अघि बढेको छ ।







प्रतिक्रिया राख्नुहोस्