पर्यटन क्षेत्रको विकासका लागि सरकारले ध्यान दिनुपर्ने सरोकारवालाको भनाई
विराटनगर । प्रदेश नं. १ मा पर्यटन क्षेत्रको प्रचुर सम्भावना रहेकाले पर्यटन क्षेत्रको विकासका लागि सरकारको ध्यान जानुपर्ने वक्ताहरूले जोड दिएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विराटनगरमा आज गरेको अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले पर्यटनको विकासका लागि सञ्चालन गरिने पूर्वाधार देखि पर्यटन संस्था दर्ता प्रक्रिया झन्झटिलो र असहज भएको बताउनुभयो ।
पर्यटन व्यवसायी भविश श्रेष्ठले ट्राभल एजेन्सीका लागि दर्ता पक्रिया महँगो र झन्झटिलो भएकाले प्रदेश स्तरबाट दर्ता प्रक्रियाको व्यवस्था सरकारले मिलाउनुपर्ने बताउनुभयो । भारतीय पर्यटकहरूलाई सिमाक्षेत्रमा प्रहरीका कारण ठुलो झझंट व्यहाेर्नु परेकाले सिम क्षेत्रमा पर्यटन प्रहरी राख्न आग्रह गर्नुभयो ।
अर्का व्यवसायी राजन श्रेष्ठले कोभिडका कारण पर्यटन क्षेत्र धारादायी बन्दै गएकाले त्यसतर्फ सरकारको ध्यान जानुपर्ने बताउनुभयो । होटल सञ्चालनका लागी वातावरणीय प्रतिवेदन आवश्यक चाहिने विषयले होटल खोल्नका लागि अफ्ठयारो हुने गरेको उहाँले बताउनुभयो ।
होटल व्यवसायी पूर्ण भट्टराई ले ट्राभल दर्ता प्रक्रिया त्रुटिपूर्ण रहेकाले त्यसलाई सच्याउनु आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा बोल्ने तर कार्यान्वयन भने नहुने परिपाटीले पर्यटन क्षेत्र मारमा परेको उहाँको भनाइ थियो ।
कार्यक्रममा प्रदेश १ का पर्यटन तथा संस्कृति मन्त्री खिनु लगुंंवा लिम्बुले पर्यटन व्यवसायीले दिएको सुझाव प्रति प्रदेश सरकार गम्भीर रहेको बताउनुभयो । प्रदेश १ मा पर्यटन क्षेत्रलाई उद्योग सँग जोड्दै गरिबी निवारण र रोजगारीको अवसर सृजना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलले कार्यक्रममा आएका सुझावलाई सङ्घीय सरकार मार्फत समाधान गन आफु तत्पर रहेको बताउनुभयो । उहाँले यो सुझावलाई मन्त्रालयसम्म पुर्याएर यसको समाधान गरिने उहाँको भनाई थियो ।
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले पर्यटन क्षेत्र आर्थिक विकासको मेरुदण्ड भएकाले यस्को विकासमा जोड दिनुभयो । कार्यक्रममा मन्त्रालयका उपसचिव प्रकाश आचार्य, पर्यटन विभागका निर्देशक मोहन बहादुर जिसी तथा प्रदेश न १ का पर्यटन तथा सांस्कृतिक मन्त्रालयका अधिकृत शम्भु साहले पर्यटन क्षेत्रको विकास तथा सरकारको नीतिको बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।







प्रतिक्रिया राख्नुहोस्